
पोखरा-विगत चार वर्षदेखि पेसा÷व्यवसाय दर्ता, नविकरण नगर्दै कर समेत नतिर्ने अटेरी पोखराका प्याराग्लाइडिङ कम्पनीसँग महानगर थप एक हप्ता लचिलो भएको छ।बुधबारदेखि उडान भर्न नदिने चेतावनी दिएको महानगरले कम्पनीहरु एक हप्ता भित्र कर तिर्न राजी भएपछि उडान यथावत भइरहेको हो।
पोखरा महानगरपालिकाले सराङकोट क्षेत्र पर्ने वडा नम्बर १८ लाई प्याराग्लाइडिङ कम्पनीलाई करसम्बन्धि नियमन गर्न अख्तियारी दिएपछि कर दाखिला नभए सराङकोट प्रवेशमा रोक लगाइने भन्दै वडाले पत्राचार गरेको थियो।कम्पनीका तर्फबाट बुधबार नै हवाई खेलकुद संस्था (ना)ले महानगरसँग कर तिर्ने सम्झौता भएपछि तत्कालका लागि समस्याको गाँठो फुकेको छ।
पोखरामा हाल ६० बढि दर्ता भएका प्याराग्लाइडिङ कम्पनीमा ४० को हाराहारीमा मात्रै सक्रिय छन्। व्यावसायी उडानका लागि सराङकोट, तोरीपानी क्षेत्र प्रयोग हुँदै आएको छ । वडाध्यक्ष रणबहादुर थापाका अनुसार एक कम्पनीले सञ्चालनका लागि ८६ हजार रुपैयाँ कर दाखिला गर्नुपर्ने छ। हालसम्म माउन्टेन भ्यू कम्पनीले मात्रै महानगरलाई कर तिर्दै आएको छ।
दिनहुँ दुर्घटना भएपछि नेपाल उड्डन प्राधिकरण पोखरा शाखा कार्यालयले मंगलबारदेखि सोलो उडान अनुमति दिन बन्द गरेको छ। सोलो उडान अनुमति दिने दुई प्याराग्लाइडिङ कम्पनी ब्लु स्काई र फ्रन्टियर्सलाई कारबाही स्वरुप अनुमति आवेदन प्रक्रिया रद्द गरेको छ।
तोकिएको एयरस्पेश भन्दा बाहिर गई उडान गरेकोले वितेको तिन दिनमा दुई जनाको मृत्यु र दुई जना घाइते भएको प्राधिकरणको निष्कर्ष छ। प्राधिकरणको अर्को सूचना नआउन्जेलसम्मका लागि सोलो उडान अनुमति लिइसकेका स्वदेशी/विदेशी कोही पनि उड्न पाउने छैनन्।