
धनगढी-टीकापुर घटनाको फैसलापछि छुटेका बन्दीहरुले अदालतले न्याय गरेको प्रतिकृया दिएका छन् । यता टीकापुर घटनामा ज्यान गुमाउनेका परिवारहरुले पनि न्याय पाएको अनुभुति भएको प्रतिकृया दिएका छन् ।
टीकापुर घटनामा संलग्न भएको भन्दै बुधबार जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ भने १५ जना अदालतको पैसलापछि छुटेर बुधबार नै घर फर्किएका छन्। जन्म कैद सुनाईएका ११ जना मध्य श्रवण चौधरी नावालक भएकाले उनलाई १० बर्ष कैद सुनाईएको छ।
अदालतको पैसला पछि छुटेका मध्य १२ जनालाई ३ बर्ष कैद सजाए सुनाईएको र उनीहरुले भुक्तानी गरिसकेकाले छुटेका हुन । ३ जना नुहल जागा तहैवार,रामनरेश चौधरी र बिसराम कुश्मीलाई भने अदालतले सफाई दिएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा फैसला सुनाईएको हो।
अदालतको फैसला पछि छुटेका तत्कालिन थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीले भने–‘ढिलै भएपनि अदालतले न्याय दिएको छ, तर पनि सरकारको लापरवाहीले अहिले सम्म दुख पायौं।’ उनले यो मुद्धा राजनितिक तवरले समाधान हुनुपर्ने तर राज्यले जातिय बिभेद गरेर कानुनी प्रकृयामा लगेको बताए।
यस्तै ३ बर्ष सजाए भुक्तानी गरि छुटेका अर्का किसनलाल चौधरीले पनि अदालतले न्याय दिएको त्यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताए। उनका दाई पदम बहादुर चौधरीले भने–‘अदालतले गरेको फैसला ठिकै छ, शान्तीपुर्ण आन्दोलनमा सबै नेताको सहभागिता रहेको तर त्यती ठुलो घटना होला भनेर कसैले पनि कल्पना गरेका थिएनन् त्यो घटना दुखद हो।’ उनले यसलाई राजनिति मुद्धा बनाउनु पर्ने तर कानुनी उपचार गर्दा केही ब्यक्तिलाई जन्म कैल भएकोमा दुख लागेको बताए।
अदालतबाट सफाई पाएका नुहल जागाका बुवा भोगा जागाले आफ्नो छोरो निर्दोष रहेकाले सफाई पाएको बताउँदै अदालतले न्याय दिएको बताए । यता टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक बलराम विष्टका भाई भरत विष्ट धनगढीमै सशस्त्र प्रहरीमा कार्यरत छन्।
बिष्टले दाईको हत्या भएको झण्डै साढे तीन बर्षपछि फैसला सुनाईएकोमा यसले न्यायको अनुभुती भएको प्रतिक्रिया दिए। ‘जुन फैसला भएको छ त्यसले एकदमै खुशी भएको छु, धनगढीको ट्राफिक चौराहमा भेटिएका विष्टले भने- ‘मरेको मान्छेलाई ज्युदो बनाउन त सकिदैन् तर देशमा कानुन रहेछ भन्ने अनुभुती भएको छ ।’
विष्ट परिवारसँगै अदालतको फैसलाले पीडित परिवाहरुले न्यायको महसुस गरेका छन्। ८ सुरक्षाकर्मी र एक नावालकको हत्या हुने गरि भएको टीकापुर घटनाको फैसलाले न्याय दिएको महसुस भएको घटनामै ज्यान गुमाएका बेलौरी नगरपालिका–६ विद्यानगरका प्रहरी निरीक्षक केशव बोहोराका बुबा प्रेम बोहोराले बताए।
उनले भने–‘दोषीलाई कारवाही होस भन्ने चहाना थियो अदालतले त्यही गरेको छ।’ भएको फैसलाको कार्यान्वयन सहि तरिकाले होस भन्ने आफ्नो चाहाना रहेको उनको भनाई छ ।
२०७२ भदौ ७ गतेको टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दारद्वय श्यामबहादुर खड्का, जनक नेगी र प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउँद र सशस्त्र हवल्दार राम विहारी थारूलाई थरूहट थारूवान पक्षधर आन्दोलनकारीहरूले नियन्त्रणमा लिइ भाला, खुकुरी र धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। त्यस्तै आक्रमणकारीबाट सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्रबहादुर साउँदका छोरा टेकेन्द्र साउँदको घरमै खेलिरहेका बेला गोली प्रहारबाट मृत्यु भएको थियो।
अदालतको फैसलापछि न्याय पाएको अनुभव भएको मृतक वालक टेकेन्द्र साउँदका बाजे जंगवहादुर साउँदले बताए । उनले भने–‘दोषीलाई कारवाही होस भन्ने मेरो पहिलेदेखिकै माग हो, दोषीहरुलाई कारवाही गर्ने फैसला सुनाएको छ।’
कैलाली जिल्ला अदालतले रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो। सासंद चौधरी सहित हरीनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरीया, बृज मोहन कठरिया, राजेश चौधरी, विर वहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलमा १३(३) नम्वर बमोजिम जनही जन्म कैद सजाय सुनाईएको हो।
यस्तै लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरीया, सन्तराम चौधरी, जित वहादुर डगौरा, प्रेम वहादुर चौधरी, किशनलाल चौधरी, दिलवहदादुर चौधरी, सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रशाद चौधरी लगायत १२ जनालाई ३ बर्ष कैद तोकिएको छ।
यी मध्ये चुन्कीराम बाहेक ११ जनाले कैद भुक्तानी गरिसकेकाले उनीहरुलाई बुधबार नै छोडिएको छ। यसै गरी करन चौधरीलाई बालबालिका ऐन २०४८ को दफा ११ (२) बमोजिम ६ महिना कैद हुने आदेश भएकोमा उनको पनि कैद भुक्तान भईसकेकाले बुधबार नै थुना मुक्त भएका छन्। यस्तै फरार रहेका ३१ जना मुद्धा मुल्तवमा रहने अदालतको फैसलामा उल्लेख छ।
सो मुद्दाबारे वादी र प्रतिवादी पक्षका कानून व्यवसायीबीच बहस मंगलवार सकिएको थियो। वादीतर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए भने प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता हरि फुँयाल, गंगाराम पाध्याय, मिलन राई लगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए।
घटना घटाएको अभियोगमा ५८ जना विरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर भएको थियो । ५८ जनामध्ये सांसद रेशम चौधरी, थारु नेता लक्ष्मण थारु, लाहुराम चौधरी सहित २७ जना पक्राउ परेका थिए।