
धनगढी-बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्त हत्या घटनामा प्रमाण नष्ट पारेको आरोपमा ६ जना प्रहरी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाका अनुसार तत्कालीन प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी सहित ६ जना प्रहरीलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुर उपस्थित गराइएको छ। उनीहरु सबै कञ्चनपुर प्रहरीको हिरासतमा छन् ।
सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा उनिहरु विरुद्ध जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको जानकारी दिएको छ।
यातना दिएको अभियोगमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट सहित तत्कालीन प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी, सिआइबीका प्रहरी नायव उपरीक्षक अंगुर जिसी र प्रहरी निरीक्षक एकेन्द्र खड्का विरुद्ध मुद्दा दायर गरिएको बताईएको छ।
प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक जगदिश भट्ट, प्रहरी नायव निरीक्षक हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध पनि मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओझाले जानकारी दिए। मुद्दा दर्ता भएका मध्ये विष्ट र भट्टलाई सरकारले सेवाबाटै बर्खास्त गरिसकेको छ भने अन्य ६ प्रहरी निलम्बनमा छन्।
आठ जना प्रहरी विरुद्ध मुद्धा दर्ता गरिएको हो। दिलिपसिंह बिष्टलाई यातना दिएको र अन्यले प्रमाण नष्ट गरेको आरोपमा आठ प्रहरी विरुद्ध मुद्दा दायर भएको छ।
जिल्ला अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले प्रतिवादी कानुन व्यवसायीले प्रारम्भिक सुनुवाइको माग गर्दै निवेदन दिएकाले प्रारम्भिक सुनुवाई सुरु हुने जानकारी दिए । त्यसपछि थुनामा राखेर अनुसन्धान हुने कि धरौटीमा छोड्ने भन्ने बारेमा थुनछेक बहस हुने उनले जानकारी दिए।