
भारतमा लोकसभाको चुनावका लागि कांग्रेसले उत्तर प्रदेश र गुजरातमा आफ्ना १५ उमेद्वारको सूची सार्वजनिक गरेको छ । यसमा उत्तर प्रदेशका ११ र गुजरातका चार सिटमा उमेद्वारको नाम घोषणा गरिएको हो ।
यो सूचीबाट प्रष्ट भएको छ कि सोनिया गान्धी रायबरेलीबाट चुनाव लड्नेछिन् र अध्यक्ष राहुल गान्धी अमेठीबाट उठ्नेछन् । प्रियंका गान्धी रायबरेलीबाट चुनाव लड्ने अनुमान अब बाँकी रहेन ।
यो सूचीमा कांग्रेसका नेताहरु निर्मल खत्री, आरपीएन सिंह, सलमान खुर्शीद, इमरान मसूद अनु टन्डन र जितिन प्रसादको पनि नाम छ । यो सूची यस्तो समयमा आएको छ जब समाजवादी पार्टी र बहुजन समाज पार्टीको गठबन्धनमा कांग्रेस सहभागी हुने चर्चा चलिरहेको थियो ।
सपा–बसपा गठबन्धनमा पहिले कांग्रेसलालई मात्र दुई सिट दिइएको थियो जसलाई कांग्रेसले स्वीकार गरेको थिएन । यसपछि हालै समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव केही नरम भएका थिए । कांग्रेसको इन्कारका बावजुत पनि उनले गठबन्धनमा कांग्रेस अहिले पनि सहभागी रहेको बताएका थिए ।
पहिलो सूची सार्वजनिक गरेर कांग्रेसले गठबन्धनको सम्भावना जिवितै राखेको हो अथवा अन्त्य गरेको हो त्यो यसै भन्न सकिने अवस्था छैन ।