काठमाडौं –प्रहरीसँगको ‘इन्काउन्टर’मा घाइते भएपछि हिरासतमै उपचारका लागि चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा भर्ना गरिएका फरार अभियुक्त टीकाराम थापा (टिके)लाई सुरक्षाका कारणले काठमाडौं ‘रेफर’ गरिएको छ।
भरतपुर अस्पतालका वरिष्ठ चिकित्सक डा. युवानिधि बसौलाका अनुसार टीकेलाई सुरक्षाका कारण भरतपुर अस्पतालमा उपयुक्त नभएको र उनको उपस्थितले अन्य विरामीको रेखदेखमा पनि असर पर्ने भएकाले उनलाई तत्काल काठमाडौं रिफर गरिएको हो।
यसका साथै भरतपुर अस्पतालले काठमाडौंको कुनै अस्पताललाई रेफर नगरेको भएता पनि सामान्यतया अभियुक्त वा कैदीहरुको उपचार सरकारी अस्पतालमा हुने हुनाले उनलाई वीर अस्पताल लैजान सकिने प्रहरी स्रोतले बतायो।
चितवनको रामनगरमा जाँचबुझका क्रममा टीकेले प्रहरी टोलीमाथि गोली चलाएपछि जवाफी फायरिङमा उनको दाहिने हात र दाहिने तिग्रामा गोली लागेको थियो र भरतपुरमा एक्सरे लगायतका परीक्षणपछि उनलाई जोखिममुक्त बताइएको थियो।
माघ ४ गते डिल्ली बजारस्थित सदरखोरबाट फरार अभियुक्त टीकाराम थापा (टिके) ९ दिनपछि चितवनमा इन्काउन्टरपछि पन: गिरफ्तार भएका हुन्।
यो पनि पढ्नुस्..