
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित निकालेको छ । रियलको जितमा क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे । लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालार्य ४–१ ले हराएको हो । जिनेदिन जिदानको टिम रियललाई जिताउन रोनाल्डोले दुई तथा मार्सेलो र टोनी क्रसले एक एक गोल गरे ।
रोनाल्डोले १६ र ३८ औँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै रियल मड्रिडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । रोनाल्डोले पहिलो पेनाल्टी भ्यालेन्सियाका खेलाडीले फउल गरेपछि पाए भने दोस्रो पेनाल्टी करिम बेन्जिमालाई भ्यालेन्सियाका खेलाडीले धकेलेकाले पाएका हुन् ।
रोनाल्डोले ला लिगामा यो सिजन ८ गोल गरेका छन् । ५८ औँ मिनेटमा मिना लोरेन्जोले भ्यालेन्सियाका लागि एक गोल फर्काए । तर ८४ औँ मिनेटमा मार्सेलो तथा ८९ औँ मिनेटमा क्रसले गोल गरेपछि भ्रमण टोली रियल मड्रिडले ४–१ को प्रभावशाली जित दर्ता गर्यो ।
यो जितसँगै चौथो स्थानको रियलले तेस्रो स्थानको भ्यालेन्सियासँगको अंक दूरी दुईमा झारेको छ । यस्तै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी पनि १६ मा छोट्याएको छ ।
गएको बुधबार राति भएको खेलमा पराजित भएर कोपा डेल रेबाट बाहिरिएको रियलका लागि ला लिगको जितले राहत दिएको छ ।
ला लिगा अन्तर्गत शनिबार राति नै भएका खेलमा भिल्लारियलले रियल सोसिडाडलाई ४–२ ले हरायो भने डिप्रोटिभो डी ला कोरुना र लेभान्टेले २–२ तथा मालागा र जिरोनाले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।