
विराटनगर – प्रदेश नम्बर एकमा सहमतिमा सरकार बन्ने पूर्वसञ्चार मन्त्री एवं प्रदेश सभासदस्य शेरधन राईले बताएका छन् ।
विराटनगरमा आइतबार एमालेका नेता तथा प्रदेश सभासदस्य राईले माओवादी केन्द मात्र नभएर अन्य दलसंग गठबन्धन गरी प्रादेशिक सरकार निर्माण हुने बताएका हुन् । उनले प्रदेश नम्बर एकमा एमालेको मात्र एकल सरकार भन्दा पनि गठबन्धन सरकारले प्राथमिकता पाउनेमा छलफल भइरहेको उल्लेख गरे ।
मुख्यमन्त्रीको दावेदारी प्रस्तुत गरिरहेका राईले आफ्नो दाबेदारी कायम रहेको स्पस्ट पारे । उनले भने, “दलको नेतामा सहमति बन्न नसके संसदीय दलको बैठक अन्तर्गत निर्वाचनबाट भएपनि आफू नेता चयन गर्न तयार रहेको छु ।”
मुख्यमन्त्रीको अर्का दाबेदार भीम आचार्यले काठमाडौंमा शनिबार आफ्नो दाबेदारी प्रस्तुत गरे लगत्तै राईले भने, “एक नम्बर प्रदेशको मुख्यमन्त्रीको चयनका लागि पहिलो अवसर स्थायी कमिटि बैठकलाई जानेछ। तर त्यहाँ बाट निकास नआए हामी निर्वाचनमा जानेछौँ ।”
फागुनको दोश्रो हप्ताभित्र केन्द्रीय सरकार गठन हुने बताएका राईले, वर्तमान सरकारले गरेको पछिल्लो निर्णय खारेज हुनेसक्ने उल्लेख गरे ।
दुई पार्टी एकीकरणबारे जारी चर्चा बारे उनले स्पष्ट पार्दै भने, “शीर्ष दुई नेतृत्वमा सबैकुरा छाडिएको छ ।
उहाँहरुबिच जे सहमति हुन्छ त्यसैले सबै कुरा निर्धारण गर्नेछ ।” पार्टी एकीकरणबाट सरकार निर्माणमा असर पुराउन नहुनेमा जोड दिएका राईले सरकार र पार्टी प्रमुख अलग अलग भए आपक्ति नहुने स्पष्ट पारे ।