
विराटनगर- निर्वाचनका क्रममा नेपाली कांग्रेससंग गरिएको सहकार्यमा आफूहरुलाई नोक्सानी पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले बताएका छन्।
विराटनगरमा आइतबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले निर्वाचनमा कांग्रेसले इमान्दारी नदेखाएको र पार्टीका बिषयमा ग्रामीण तहसम्म पुगेको भ्रम चिर्न नसक्दा राप्रपाले हार बेहोर्नुपरेको स्पस्ट पारे।
त्यसैगरी अध्यक्ष थापाले राप्रपाले हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रको वकालत गरेकै कारण हार बेहोर्नुपरेको कुरामा सत्यता नभएको उल्लेख गरे। उनले भने, ‘यहाँ हारका विभिन्न कारण अघि सारिएका छन् तर, त्यसमध्ये प्रमुख कारण कांग्रेसले इमान्दारी नदेखाउनु नै प्रमुख छ।’
पार्टी विभाजनका विषयमा कार्यकतालाई स्पष्ट पार्दै अध्यक्ष थापाले मुलुकमा राष्ट्रबादी शक्ति बलियो नहोस् भन्ने चाहना राख्ने देशीबिदेशी शक्तिको इशारामा आफूहरु अलग हुनुपरेको दाबी गरे। त्यसैगरी उनले अझै नेपाली जनताले हिन्दु राष्ट्रको एजेण्डालाई अस्वीकार नगरेको उल्लेख गरे।
९४ प्रतिशत सनातन धर्मावलम्बी रहेको देशमा अहिले पनि जनमत संग्रह गराए ८० प्रतिशत जनताले हिन्दूराष्ट्रको पक्षमा मत राख्ने उनले दाबी गरे।