
काठमाडौं-नेपालमा दैनिक सडक दुर्घटनामा ८ जनाको ज्यान जाने गरेको छ। हरेक दिन दुर्घटनाका खबर सुनिरहेका हुन्छौं। कहिले बस दुर्घटना त कहिले मोटरसाइकल, कहिले गाडिको ठक्करबाट यात्रुको मृत्यु यस्तै यस्तै….।
नेपालको पछिल्लो १२ वर्षको तथ्यांक हेर्दा सडक दुर्घटना वर्षेनि बढ्दै गएको छ।सन् २००७ मा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ सय ३७ रहेको थियो भने त्यसको ७ वर्षपछि एक हजार ७ सय ८७ पुग्यो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सन् २०१३ देखि २०२० सम्ममा सडक दुर्घटना ५० प्रतिशत घटाउने लक्ष्यसहितको कार्ययोजना बनाएको थियो। तर सरकारको कार्ययोजनाको प्रभावकारीता भने देखिएन।
सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या त्यसपछि पनि झन्झन् बढ्दै गयो। यो संख्या बढेर सन् २०१६ मा २ हजार ६ पुग्यो।२०१८ मा सडक दुर्घटनामा २ हजार ३ सय ८४ जनाले ज्यान गुमाए।
नेपालमा सडक दुर्घटना यात्रुले जथाभाबी बाटो काट्दा, गुणस्तरहीन सडक, थोत्रा सवारी साधानदेखि चालकको लापरबाही जस्ता कारणले भइरहेको देखिन्छ। मौसम र प्राकृतिक कुराहरुले पनि दुर्घटनालाई बल पुर्याएको छ।
भैतिक पूर्वाधार तथा यातापात मन्त्रालयको तथ्यांकअनुसार चालकको लापरवाहिमा ७२ प्रतिशत, तीब्र गतिमा चलाउँदा १८ प्रतिशत, मादकपदार्थ सेवन गरेर सवारी चलाउदा २ प्रतिशत, क्षमता भन्दा बढी यात्रु बोकेका कारण एक प्रतिशत, जोखिमयुक्त सवारी साधनमा १ प्रतिशत, पैदल यात्रीका कारण १ प्रतिशत, कमसल सडक १ प्रतिशत र अन्य कारणले ४ प्रतिशत दुर्घटना भएका छन्।
चालकले द्रूत गतिमा गाडी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, आकस्मिक ब्रेक लगाएका कारणले पनि दुर्घटना हुने गरेका छन्।घुमाउरा सडक र सडकमा पर्याप्त सांकेतिक बोर्डको प्रयोग नहुँदा पनि दुर्घटना हुने गरेका छन्।
सडक निमार्णमा जथाभावी कमसल सामाग्रीको प्रयोग, सडकमा जथाभावी निमार्ण सामाग्रीहरु थुपार्ने, चौपायाहरु छाडा छोड्ने र सडक प्रयोगकर्तामा जनचेतनाको कमीले गर्दा समेत दुर्घटना बढेको मन्त्रालयले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ।
जथाभाबी यात्रुलाई झार्ने र चढाउने, स्कुटर तथा मोटरसाइकलमा क्षमताभन्दा बढी सामान बोक्नु, फुटपाथमा गाडिपार्किङ, फुटपाथका व्यापारले पनि सवारी आवागमनलाई असर गरेको छ।
यात्रुहरु बाटो काट्दा जेब्राक्रसबाट र आकासे पुलको प्रयोग गर्दैनन्। सडकको बिचबाटै बाटो काटिरहेका हुन्छन्।अनि, नक्कली चालक अनुमतिपत्रले पनि यस्ता समस्याहरु बढ्दै गएका छन्।
सडक दुर्घटनालाई नियन्त्रण गर्न जनचेतनामुलक कार्यक्रम पनि भइरहेका छन्। विद्यार्थीदेखि चालक, सहचालकहरुलाई सडक दुर्घटना न्यूनिकरणका लगि ट्राफिक नियमको बारेमा जानकारी दिने कार्यक्रम भइरहेका छन्।
तीब्र गतिबाट गाडी चलाउँदा हुने दुर्घटना न्युनिकरणका लागि कतिपय सडकमा टाइम कार्डको प्रयोग गरिएको छ।कतै चेकिङ पोस्ट थपिएका छन्, मादक पदार्थ सेवनको चेकजाँचलाई पनि कडाइका साथ कार्यान्वयन गरिएको छ। तर दुर्घटनाबाट हुने क्षति भने वर्षेनि बढ्दै गएको छ।
यात्रुलाई बाटो काट्न, चालकलाई सिटबेल्टको प्रयोग अनिवार्य गर्न र मोटरसाइकलमा सवार दुवै जनाले हेलमेट लगाउने नियमलाई अझै कडाइका साथ कार्यान्वयन गराउन जोड दिने हो भने दुर्घटनाबाट हुने क्षति कम गर्न सकिन्छ।