काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रन्तिकारीका अध्यक्ष एवम् नेकपाका ब्यूरो सदस्य चिरञ्जीवी ढकालसँग देशसञ्चारकी बर्षा शाहले सरकारको आक्रामक अभियान र पार्टीको रणनितिलगायत अन्य थुप्रै विषयमा गरेको कुराकानीको सारसंक्षेप:
सरकारले वा प्रधानमन्त्री केपी शर्मा ओलीले तपाईँहरुको पार्टीलाई प्रतिबन्ध लगाउनुभएको छ। अब तपाईँहरु के गर्नुहुन्छ ?
प्रधानमन्त्रीले त धेरै कुरा गर्नुभएको छ। त्यताभन्दा पनि दोस्रो प्रश्न जुन छ, त्यसमा हामी अहिलेको दलाल सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद सता प्रप्ता गर्नका लागि एकीकृत जनक्रान्तिका लागि अगाडि बढिरहेका छौँ।
तपाईँहरुलाई सरकारले वार्तामा बोलाउँदा पनि नआएको भन्ने कुरा आएको छ नि ?
होइन, यो सरकारले भनेको वार्ताबारे हामीले पहिलादेखि नै भनेका छौँ। यो वार्ता भनेको षड्यन्त्रको कुरा हो। सरकारले षड्यन्त्रको कुरा गरिरहेको छ।
सीके राउतसँग सरकारले ११ बुँदे सम्झौता गर्यो। तपाईँहरुलाई प्रतिबन्ध लगायो, यसमा के भन्नुहुन्छ ?
जसले देशलाई टुक्र्याउँछु भन्यो, मधेशलाई स्वतन्त्र देश बनाउँछु भन्यो। अन्तर्राष्ट्रिय पृथकतावादी समूहको सदस्य बनेर नेपालमा पश्चिमेलीहरुको एजेन्ट भएर काम गरिरहेकालाई राजनीतिक मूलधारमा आयो भनेर रातो कार्पेट बिच्छ्याइयो। हामी जो जनताको राजनीति गरेका छौँ, विदेशीको इशारामा हामीलाई प्रतिबन्ध लगाइयो, जुन गलत कुरा हो।
सरकारले के गर्यो भने तपाईँहरु वार्तामा जानुहुन्छ? वर्तमान सरकार विघटन हुनुपर्यो भनेर तपाईँहरुले सर्त राखेको भन्ने आएको छ !
त्यो कुरा गलत हो। हामीले भनेकै के छ भने अहिलेको दलाल संसदवादी व्यवस्थाको अन्त गर्नुपर्छ। वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नुपर्छ। हाम्रो कुरा प्रष्ट छ। अहिलेको दलाल संसदवादीहरुसँग, विदेशीका नोकरहरुसँग वार्ता वा अरु कुराको कुनै औचित्य छैन।
सरकारले दुई हप्ताको अल्टिमेटम भनेको छ। यसलाई तपाईँहरुले कसरी लिनुभएको छ ?
त्यो अल्टिमेटमको कुनै अर्थ पनि छैन। औचित्य पनि छैन। यसप्रति हामीलाई कुनै आकर्षण पनि छैन। उहाँहरुले वार्ता गर्न बोलाउने, अल्टिमेटम दिने कुरासँग हाम्रो कुनै सरोकार छैन। हामी हाम्रो राजनीतिक कार्यक्रम लिएर जनतामाझ गइरहेका छौँ र जान्छौँ पनि।
नेकपाको अबको रणनीति के हो ?
हामी त हाम्रो भ्रष्टाचार कार्यक्रम तथा जनता विरोधी जुन रबैया सरकारले ल्याएको छ, त्यसको विरोधमा जान्छौँ नै। अब धरपकडको कुरा, विचारको प्रवाह रोक्छु भन्ने जुन कुरा छ, विदेशीहरुको इसारामा नाच्ने उहाँहरुको जुन प्रकारको रबैया छ, त्यसप्रति हामी कति पनि आतंकित छैनौँ। उहाँहरुलाई लाग्या होला, डराएर तर्साएर साइजमा ल्याउँछु भन्ने उहाँहरुलाई परेको होला, अहिलेका प्रधानमन्त्री केपी ओली त्यो भ्रममा नरहे हुन्छ। जुन सरकारको नेतृत्व केपी ओलीले गर्दै छन्, त्यो व्यवस्था हामीले, हाम्रो पार्टीका महासचिवले लडेर ल्याएको हो। यो व्यवस्था ल्याउन केपी ओलीको कुनै योगदान छैन।
प्रचण्ड अमेरिका गएको बेला केपी ओलीले विप्लवलाई समेत पक्राउ गर्ने क्षमता हामीसँग छ भन्नुभएको थियो नि?
विप्लवलाई पक्राउ गरेर उहाँले गर्ने के सक्नु हुन्छ र? विदेशीहरुको चाकडी गरेर….. अहिले अमेरिकाको जुन षड्यन्त्र छ… नेपाललाई रणभूमि बनाएर चीनमाथि आक्रमण गर्ने अमेरिकनहरुको जुन षड्यन्त्र छ, त्यस षड्यन्त्रको मुख्य मतियार बनेर प्रदिप ज्ञवाली अमेरिका गएर साइन गरेर आएका छन्। विदेशीको त्यति ठूलो चाकडी गरेका छन्।
हरेक दिनजसो तपाईँहरुको पार्टीका कार्यकर्ता पक्रिइरहेका छन्। यस विषयलाई तपाईँहरुको पार्टीभित्र कसरी हेरिएक छ?
अहिलेको कम्युनिष्टको नाममा जसरी सरकारले दमन र धरपकड गरिरहेको छ, यो एउटा षड्यन्त्र हो।
तपाईँहरुको पार्टीलाई चन्दा उठाउने गिरोह भनिएको छ नि?
जो चाहिँ भ्रष्टाचारमा लिप्त छ, उसले हामीलाई चन्दा उठायो भन्ने नैतिकता छैन। किन छैन भने उहाँहरुले प्रमाण दिन सक्नुपर्यो नि। हामी चुनौतीका साथ भन्छौँ- कुन व्यापारी, ठेकेदार आदिसँग हामीले, कोसँग जबर्जस्ती पैसा लियौँ, त्यो प्रमाण दिन सक्नुहुन्छ? यो त आफूहरुले गरेको भ्रष्टाचार लुकाउन गरिएको प्रचारबाजी मात्र हो। राजनीति गर्दा आइपर्ने खर्च हाम्रा समर्थकहरुले दिएको सहयोगबाट चलाएका छौँ।
नेकपाले प्रकाण्डलाई कारबाही गरेको कुरा आइरहेको छ? के तपाईँहरुको पार्टीभित्र पनि गुट सिर्जना हुन लागेको हो?
यो हाम्रो पार्टी माथि फेरि अर्को षड्यन्त्र हो। म प्रष्टसँग भन्न सक्छु कि हाम्रो पार्टीमा कुनै गुट छैन। हामी एक ढिका छौँ। हाम्रो टिम जुन एक ढिका हुने चरित्रको छ, त्यसबाट अत्तालिएको केपी ओली सरकारले र जो पत्रकार पैसामा बिक्छन् र नैतिकता बिर्सन्छन्- त्यस्ताले गरेको प्रचारबाजी हो। हाम्रो पार्टीमा कुनै प्रकारको गुट छैन। महासचिव विप्लवको नेतृत्वमा हाम्रो पार्टी एक ढिका छ। बरु नेपाल कम्युनिष्ट पार्टीको बोर्ड राखेर केपी ओली र प्रचण्डको पार्टीमा तमाम गुट छ।
तपाईँहरु अब के जंगल पस्ने हो? सेना गठनको कुरा पनि आएको छ?
हामी जनयुद्ध गर्दै छैनौँ। हामी सबै मिलेर एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद ल्याउने भनेर लागेका छौं।
तपाईहरुलाई सरकारले भूमिगत भएको भनेको छ नि?
हामी त खुल्लै छौँ। हामी जनताकोमा छौँ। हामी भूमिगत छैनौँ। हामी भूमिगत भएको भए… हाम्रा नेता कार्यकर्तालाई समातिरहेको छ, भूमिगत भएको भए कसरी समात्थ्यो? हामी भूमिगत छैनौँ, जनताको माझमा छौँ। जनताको राजनीति गरिरहेका छौँ, सुरक्षित छौँ।
त्यस्तो भए विप्लवजी कहाँ हुनुहुन्छ? नेपालमै हुनुहुन्छ?
उहाँ जनताको बीचमा हुनुहुन्छ। उहाँ कहिँ जानु भएको छैन। नेपालमै हुनुहुन्छ।
राजधानीमा केही समयअगाडि विभिन्न बम विस्फोटका घटना भए। तपाईँहरुले पूर्ण जिम्मा नलिए पनि सरकार पक्षले तपाईँहरुलाई शंका गरेको विषयमा के भन्नु हुन्छ?
हाम्रो पार्टीले, पार्टीको महासचिवले नै विज्ञप्ति निकालेर प्रष्ट पार्नुभएको छ। तर, बाँकी कुरा जुन एनसेलको छ, एनसेलको ७२ अर्ब रुपैयाँ त जनताको पैसा हो। केपी ओलीको बुद्धि भएको भए हामीलाई दमन गर्नुभन्दा एनसेलसँग कर पो लिनुपर्ने होइन? त्यो ७२ अर्ब रुपैयाँ हामीलाई बुझाउनु भनेको होइन नि। सरकारलाई त्यो कर बुझाएको भए त, जनताले त्यहाँ संघर्ष गर्ने थिएनन् नि।
तपाईँहरु मूलधारमा आएर पनि संघर्ष गर्न सक्नुहुन्छ होला नि? किन मूलधारमा नआउनु भएको?
हामी त मूलधारमा छौँ। गलतधारमा त केपी ओली र प्रचण्ड छन्। हामी जनताको राजनीतिक अधिकारका लागि संघर्ष गरिरहेका छौँ। जनताको राजनीति गर्दै छौँ। मिचिएका सीमामा हामी काँडेतार लाउन गइरहेका छौँ। त्यस कारणले गर्दा हामी मूलधारमा छौँ। अहिलेको सत्तामा बसेकाहरु छैनन्। जो अहिले हामीलाई मूलधारमा छैनन् भन्छन्, तिनीहरु छैनन् र तिनीहरु सच्चिनु र माफी माग्नुपर्छ।
सरकारले तपाईँहरुलाई पक्रिरहने र तपाईँहरु वार्तामा नआउने। अबको निकास के हुन्छ?
पहिलो कुरा, अहिलेको सत्ताले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएको छ। यसको विरोधमा केपी ओली प्रधानमन्त्री तथा यसका मतियारहरुले गल्ती गरेँ भनेर माफी माग्नुपर्छ। त्यसपछि उहाँहरुले नेतृत्व गरिरहेको सत्ता ठीक कि हामीले भनेको वैज्ञानिक समाजवाद व्यवस्था ठीक भनेर वहस गर्न सकिन्छ। वार्ता गर्न सकिन्छ। नत्र भने निकास त आउँदैन। समातेर थुनेर निकास आउला भन्ने जुन कल्पना गर्नुभएको छ, त्यो दिवासपना हो।
अहिले तपाईहरुसँग सेना वा हतियार छ कि छैन?
जनतासँग त हुने भयो नि। जनतासँग आफ्नो तागत त हुने भयो। जनताले त आफ्नो सुरक्षाका लागि सेना बनाउने भए। जनताले हतियार पनि जम्मा गर्छन्। सरकार दमन गर्न आएपछि जनता चुप लागेर त बस्दैनन्।