
अमेरिकी पूर्व प्रथम महिला मिशेल ओबामाको संस्मरणात्मक पुस्तक ‘बिकमिङ्ग’ इतिहासकै सबैभन्दा बढि बिक्री हुने अटोबायोग्राफी बन्ने देखिएको प्रकाशकले बताएको छ ।
प्रकाशक बर्टल्सम्यानका अनुसार अहिलेसम्म बिकमिङ्गका एक करोड भन्दा बढि प्रति बिक्री भएको छ । जर्मन फर्मका प्रमुख कार्यकारी थोमस राबेले भनेका छन्, ‘हामीलाई विश्वास छ कि यो संस्मरण अहिलेसम्मकै सबैभन्दा चर्चित बन्नेछ ।’
फर्मले मिशेल र बाराक ओबामाको संस्मरणात्मक पुस्तकको प्रकाशन अधिकारका लागि ६० मिलियन अमेरिकी डलर तिरेको थियो । मिशेलको पुस्तक पाँच महिनाअघि प्रकाशित भएको हो भने अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको पुस्तक प्रकाशित हुन बाँकी छ । मिशेल ओबामाको पुस्तक अहिले सबैभन्दा बढि बिक्री भएका बायोग्राफी वा संस्मरणात्मक पुस्तकको सूचिमा ११ औँ स्थानमा छ ।
मिशेलले आफ्नो पुस्तक बिकमिङ्गमा बाल्यकालदेखि आफ्नो काम, मातृत्वको अनुभव र ह्वाइट हाउसमा प्रथम महिलाका रुपमा रहँदाको अनुभवका बारेमा उल्लेख गरेकी छन् । उनको पुस्तकको सर्हाना विश्वभरबाट सबै वर्ग र उमेरका पाठकबाट भएको छ ।
उनले पुस्तकमा बाराक ओबामासँगको विवाहमा आइपरेका समस्या, आइभिएफ मार्फत सन्तान जन्माउँदाको अनुभवसहितका विषयमा खुलाएकी छन् ।
५४ वर्षकी मिशेलले पुस्तकमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कहिले पनि माफ गर्न नसक्ने बताएकी छन् । ट्रम्पले आफ्नो परिवारको सुरक्षा जोखिममा पारेको उनले उल्लेख गरेकी छन्।