
काठमाडौँ – सरकारका मन्त्रीले नै संघीयताको भावना विपरित केन्द्रिकृत शासन व्यवस्थाको अभ्यास गरेको सांसदले आरोप लगाएका छन् । नेकपाका सांसद प्रभु साहले उपप्रधानमन्त्री समेत रहेका स्वास्थ्य मन्त्रीले संघीयताको ‘नौटंकी’ गरेको आरोप लगाएका हुन् ।
संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बिहीबारको बैठकमा सांसद साहले मन्त्री यादवको कडा आलोचना गरेका हुन् । स्वास्थ्य मन्त्रालयले गरेका काम र भइरहेका प्रयासहरुबारे छलफल गर्न समितिले मन्त्री यादवलाई बोलाएको बैठकमा सांसद साह उनीमाथि खनिएका हुन् ।
सांसद साहले मन्त्री यादवले सत्ता बाहिर हुँदा र सत्तामा आएपछि बोले तथा व्यवहार फेरेको आरोप लगाए । उनले भने, ‘तपाईँ सत्ता बाहिर सडकमा हुँदा संघीयता कार्यान्वयन भएन भनेर चर्को कुरा गर्नु हुन्थ्यो । अहिले चाहिँ आफैले संघीयताको भावना विपरित मन्त्रालय चलाउनु भएको छ । राजाले जसरी मन्त्रालयको काम गर्नु भएको छ ।’
सांसद साहले मन्त्री यादवमाथि केन्द्रिकृत शासन पद्धति अवलम्बन गरेको मात्रै नभएर मन्त्रालय अन्तर्गतका सेवा–सुविधा तथा कर्मचारी सरुवामा पक्षपात गरेको आरोप लगाए । उनले भने, ‘राम्रो ठाउँमा जान यादव नै हुनु पर्ने ? मन्त्रालय अन्तर्गतका सेवा–सुविधा तथा बजेट आफ्नो पार्टीले जितेका स्थानीय तहमा मात्रै केन्द्रित किन गर्नु भएको ? यसले त संघीयताको नाममा नौटंकी भयो ।’
पहिले अधिकार दिएनन् भनेर भन्नेले अहिले आफू शक्तिमा आएपछि स्थानीय तहलाई अधिकार नदिएको आरोप सांसद प्रभु साहले मन्त्री यादवमाथि लगाएका हुन् । मन्त्री यादवले मन्त्रालयबाट पार्टी चलाउन खोजेको आरोप पनि सांसद साह लगाएका छन् ।