
पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्टार स्ट्राइकर नेइमारले रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोप्रति आफ्नो ठूलो आदर तथा सम्मान रहेको बताएका छन् ।
यहि सिजन बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा पिएसजी गएका नेइमार रियल मड्रिड जान चाहेको खबर आइरहेका बेला उनले रोनाल्डोप्रति आफ्नो सम्मान रहेको बताएका हुन् ।
नेइमार र रोनाल्डो च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा आउँदो फेब्रुअरी १४ मा आमनेसामने हुँदैछन् ।
नेइमारलाई क्लब ल्याउन रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज लागिपरेको र यसले रोनाल्डोमाथि दबाब बढेको खबर आइरहेका बेला नेइमारले रोनाल्डोको प्रशंसा गरेका हुन् ।
२५ वर्षे नेइमारले भने ‘म रोनाल्डोको जस्तै स्तरमा पुग्न प्रयास गरिरहेको छु । उनी विश्वको सुन्दर खेलको निकै उच्च स्थानमा छन् गएको एक दशकदेखि ।’ फुटबलमा राम्रो इतिहास बनाएकाले आफूले रोनाल्डोलाई सम्मान गर्ने नेइमारले बताए ।