काठमाडौं– भक्तपुरको सुर्यविनायकस्थित सिपाडोलमा गत बुधबार भएको डकैतीमा संलग्न भएको आरोपमा तीनजना पक्राउ परेका छन्।
महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। डकैतीका नाइके भने फरार रहेको जनाईएको छ।
प्रहरीले पक्राउ तीनैजनाको नाम गोप्य राखेको छ। उनीहरुको साथबाट ६ तोला सुन बरामद भएको स्रोतले जनाएको छ। घटनामा प्रयाेग भएकाे माेटरसाइकल भेट्टाएपछि प्रहरीले अभियुक्तकाे पहिचान गरेकाे थियाे।
काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट भएकाे थियाे।
नकाबधारी समूहलेभित्र पसेर रिभल्वर देखाउँदै घरका १० जनाको परिवारको मोबाइल खोसेर सबैलाई डोरीले बाधेर लुटपाट गरेका थिए।
लुटेराले १० वटा मोबाइल, एक मोटरसाइकल, करिब १८ तोला सुन, नगद रु एक लाख ६२ हजार लगायत रु १४ लाख भन्दा बढीको धनमाल लुटपाट गरेका थिए।
नकाबधारी समूहमा आएकाले एक जनाले पेस्तोल देखाएको, एक जनाले पेस्तोल बोकेको र अन्यले खुकुरी, रडलगायतका घरेलु हतियार लिएका थिए।