विराटनगर – राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर एकबाट खुल्ला तथा महिलामा उम्मेदवारी दिएका ६ जना निर्विरोध निर्वाचित भएका छन् ।
८ जना राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचन प्रक्रियामा एकजनाको मात्रै उम्मेदवारी परेकाले महिलातर्फ ३ र खुल्लातर्फ ३ जना निर्विरोध निर्वाचित भएको प्रदेश नम्बर एक मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार एमालेतर्फ उम्मेदवार खड्ग बस्नेतले उम्मद्ेवारी फिर्ता लिएपछि खुल्लातर्फ तीनजना निर्विरोध भएका हुन् ।
यसअघि बस्नेतसहित अन्य तीनजनाको उम्मेदवारी परेको थियो । जसमा नेपाली कांग्रेसका रमेशजंग रायमाझी, एमालेका पर्शुराम मेघी गुरुङ र हरिचरण शिवाकोटी निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी मनोनयन दर्ताका क्रममा महिलातर्फपनि तीनजना उम्मेदवार निर्विरोध भएका थिए । जसमा एमालेकी नैनाकला ओझा, कांग्रेसबाट सरिता प्रसाई र माओवादी केन्द्रबाट बीना पोखरेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
यसैबीच माघ २४ हुने निर्वाचनमा अब, अल्पसंख्यक र दलित कोटाका लागि मात्र मतदान हुनेछ । राष्टियसभा सदस्यका लागि प्रदेश नम्बर एकबाट ९३ प्रदेशसभा सदस्यसहित १ सय ३७ स्थानीय तहका प्रमुख र उपप्रमुखगरी २ सय ७४ मतदाता छन् ।