
काठमाडौँ – चलचित्र प्रदर्शनको मिति नजिकिँदा भागदौड बढ्नु, रातमा निन्द्रा नपर्नु, के होला कस्तो होला ? भन्ने उत्सुकताले मनमा बास गर्नु कलाकारका लागि सामान्य हो।
चैत २९ गते प्रदर्शनमा आउने ‘यात्रा–अ म्यूजिकल भ्लग’ का नायक सलिनमान बनियाँलाई अहिले भ्याइनभ्याई छ। व्यस्तताका बिच हाँस्दै उनले भने, ‘कतिवटा अन्तर्वार्ता दिइयो गनेकै छैन।’
बोल्दा बोल्दै थकाइ लाग्छ । तर कामसँग अनौठो रस बसेको छ उनको । वर्षदिन अघि ‘ए मेरो हजुर–२’ को प्रोमोशनको क्रममा उनले आफू अब अगाडि चलचित्र गर्ने–नगर्ने यकिन रुपमा भन्न नसक्ने बताएका थिए तर दोस्रो चलचित्र उनले साइन गर्नुको पछाडि कारण पनि लुकेको छ।
बिहान उठेपछि सुरु हुने उनको व्यस्तता अबेर रातसम्म हुन्छ । चलचित्र प्रदर्शनको मिति नजिकिँदै गर्दा आफैले आफैलाई समय दिन भ्याएका छैनन् सलिनले। जसरी हुन्छ चलचित्रको प्रोमोसन गर्नु छ उनलाई।
कोरियन स्टाइल अनि ‘चकलेटी लुक्स’ भएका सलिनको दोस्रो चलचित्र आउँदै छ। सलिनलाई आफ्नो करियर र चलचित्र यात्रासँग सम्बन्धित भएर देश सञ्चारकी सुजाता खत्रीले १५ प्रश्न गरेकी छन् ।
१) एक वर्ष अगाडि र एक वर्ष पछाडि आफूले आफूलाई कसरी हेर्नुभएको छ ?
‘ए मेरो हजूर–२’ भन्दा अगाडि म आफूले आफूलाई मेन्टेन गर्दैनथेँ। चलचित्र क्षेत्रमा के भइरहेको छ, कस्तो हुनुपर्छ भन्ने बारेमा मतलब थिएन। पहिलो चलचित्रमा काम गर्दै गर्दा म बिस्तारै यो क्षेत्रको बारेमा कुराहरु बुझ्न थाले। चलचित्र प्रदर्शनमा आयो। दर्शकको धेरै माया पाए। दर्शकहरुको धेरै साथ पाए। त्यो देखेर मलाई अर्को प्रोजेक्टमा पनि काम गर्न मन लाग्यो।
२) ‘ए मेरो हजूर–२’ को प्रोमोशनमा तपाईँले चलचित्रमा चान्स आएर काम गरेका, पैसा कमाउनलाई पछि व्यापार नै गर्नुपर्छ भन्नु भएको थियो नि हैन ?
मैले त्यतिबेला साचो कुरा नै बोलेको हुँ। मेरो व्याकग्राउण्डमा चलचित्र क्षेत्रको कोही पनि थिएनन्। मैले कहिले पनि चलचित्र क्षेत्रमा आउँछु भनेर सोचेको पनि थिइन। मैले नाटक पनि गरेको छैन। केही कोर्ष पनि लिएको हैन। पहिलो चलचित्रमा काम गर्दा आफैलाई चुनौति थियो, ‘मैले गर्न सक्छु कि सक्दिन होला’ भन्ने।

यात्रामा सलोन बस्नेतकाे पनि अभिनय छ ।
निर्माताको त्यत्रो लगानी मैले गर्दा बिग्रिन सक्छ । त्यसैले मैले अब नगरम कि भनेर सोचेको थिएँ। झरना थापाले गर्न सक्छौ भनेर मलाई अडिसन लिनुभयो। उहाँलाई मन परेपछि मात्र म काम गर्न गएको हुँ। कहिले काम गरेको अनुभव थिएन। म अलि खाना खानुपर्ने, राम्ररी बस्नुपर्ने खालको छु। चलचित्रको सुटिङको कारणले कता कता गइरहेको हुन्छु। राम्ररी सुत्न पाईँदैन। खान पाईँदैन। त्यो कारण गाह्रो अनुभव भएको थियो। त्यसैले अर्को चलचित्र नगर्ने कि भएको थियो।
तर दर्शकहरुले एकदमै माया गर्नुभयो। अर्को चलचित्र कहिले आउँछ भनेर सोध्नुभयो। त्यसैले दर्शकलाई इन्टरटेनिङ्ग फिल होस् भनेर म यो चलचित्रसँग जोडिए।
३) अहिले परिपक्क हुनुभएको भएको हो ?
बिस्तारै सिक्दै छु।
४) तपाईँलाई डेब्यु गराउने निर्देशकको चलचित्र र तपाईँको चलचित्र एकसाथ आउँदै छन् । प्रतिस्पर्धामा जुध्न लागेको अवस्थालाई कसरी लिनु भएको छ ?
नेपालमा हलहरु धेरैछन्। चलचित्र निर्माण गर्ने पनि धेरै हुनुहुन्छ । हरेक साता एउटा न एउटा चलचित्र जुधिरहेको नै हुन्छन्।
एक खालको प्रेसर छ। तर हाम्रो दर्शकहरुले नेपाली चलचित्र क्षेत्रलाई साथ दिनुहुन्छ भन्नेमा म आशावादी छु। दुवैले माया पाए दुवै सफल हुन्छन्। नयाँ कलाकारलाई पनि साथ दिनुहुन दर्शकलाई अनुरोध गर्न चाहन्छु।
५) अनमोलसँग सलिनको टक्कर भनेर प्रचार भईरहेको छ, यस्तो किसिमको कुराकानीलाई कसरी लिनुभएको छ?
पहिलो, म नयाँ कलाकार हो। मेरो भर्खर दोस्रो चलचित्र आईरहेको छ। तर मलाई त्यस्तो सिनियर कलाकारसँग तुलना गरिएको छ। यसले एक किसिमको प्रेसरको अनुभूति भयो। यसलाई म नराम्रो त मान्दिन।

अभिनेत्री मलिका महत ।
सबैले तिम्ले चलचित्र किन जुधाएको ? तिमि हार्छ भन्दैछन् । तर प्रर्दशनको समय कतिबेला पार्ने त्यो निर्माताको कुरा हो। हामी कलाकार हौँ, हाम्रो काम अभिनय, डबिङ अनि प्रमोशनको काम हो। भित्रको कुरा हामीलाई थाहा हुँदैन।
तर, जुध्ने कुरा नै छ भने म पछाडि हट्दिन, बरु म हार्छु । नम्बर १ सँग हार्नुको मजा पनि बेग्लै हुन्छ जस्तो लाग्यो मलाई ।
६) प्रेसर भएको छ भन्नुभयो कस्तो खालको प्रेसर भयो?
मैले लामो समयपछि अर्को चलचित्रमा काम गर्ने निर्णय लिएको हुँ। चलचित्र चल्दैन, फ्लप हुन्छ भन्दा तनाव हुन्छ। म चलचित्र क्षेत्रमा फर्केर आउनु भनेको मलाई दर्शकले दिएको माया नै हो। तर हार्छ भन्दा चित्त दुख्यो।
हामी दर्शकको मनोरञ्जनको लागि काम गर्छौँ, हाम्रो मेहनत नै त्यसैको लागि हो। नयाँ कलाकारलाई पनि साथ दिनुपर्छ जस्तो लाग्छ।
७) ‘ए मेरो हजुर–२’ प्रदर्शन भएपछि राजजिङ्ग स्टारको रुपमा तपाईँलाई हेरिएको छ। तपाईँ आफूलाई के भनेर चिनाउन चाहनुहुन्छ ?
मैले आफूले आफूलाई कहिले पनि स्टारको रुपमा सोचिन। भर्खरै आएको छु। ५–१० वटा चलचित्रमा काम गरेको अनुभव भएको भए, अनि सबको मनमनमा राज गरिरहेको भए मैले आफूलाई अलि माथि सोच्न मिल्थ्यो। अहिले भर्खर मेरो दोस्रो चलचित्र आउँदैछ। म कलाकार हु दर्शकको माया पाउन चाहन्छु।
८) चलचित्र काम गर्न सजिलो छैन भन्छन् नि ?
हो नि, कामको मात्र कुरा गर्ने हो भने पनि मेहनत धेरै पर्छ। मेरो पहिलो चलचित्र अनि दोस्रो चलचित्र दुवैमा धेरै यात्रा गर्नुप¥यो। मलाई मोसन सिकनेस हुन्छ। तर काममा मजा पनि छ।
९) आफ्नो बारेमा अचम्म लाग्ने के समाचार सुन्नु भएको छ ?
अहिलेको हट टपिक भनेको ‘दुम्सी’ हो। डान्स गर्न आउँदैन। दुम्सी भनेको राम्रो जनावर पनि हो। पहिला कुकुर धेरै लाइटमा आउँथ्यो। मैले गर्दा दुम्सीको नाम पनि अगाडि आइरहेको छ। (उनी मुस्कुराए)
१०) फ्यानहरुले भेट्दा के भन्छन् ?
धेरैजसो ‘क्या ह्याण्डसम तपाईँ’ तपाईँ रियलमा झन् राम्रो लाग्यो भन्दा खुशी लाग्छ। म सामान्य तरिकाले बस्छु। बेलाबेलामा स्क्रम गरेको हुन्छु तर अनुहारलाई त्यस्तो विशेष केही हुँदैन।
११) छाला राम्रो हुन खानेकुराको रुटिन होला नि ?
छाला राम्रो होस् भनेर मैले खानाको रुटिन बनाएको छैन। मलाई खाना एकदमै मन पर्छ। जे मिठो छ, त्यो खाइहाल्छु। हेल्थ कन्सियस छैन।
१२) नेपाली चलचित्रको सबैभन्दा राम्रो पक्ष के हो ?
दर्शकको माया ।
१३) अनि नराम्रो पक्ष ?
नहेप्दिनुस्। नयाँ कलाकारहरु पनि केही गर्ने प्रयासमा आईरहेका हुन्छन्। नयाँ कलाकारलाई हेर्ने तरिका अलि फरक लाग्छ।
मैले सुनिरहेको छु, ‘सलिन यत्तिकै हावामा हिरो भयो, मनै नभएको मान्छेलाई हिरो बनायो।’
मैले चलचित्र क्षेत्रमा आउने नसोचेको भए पनि मैले धेरै मेहनत गरिरहेको छु। मैले कतै ध्यान नदिएर अहिले यात्रा लिएर आएको छु। अभिनय नै नभएको मान्छे यो क्षेत्रमा आयो भन्दा चित्त दुख्छ।
पहिलो चलचित्रमा म त्यति मोटिभेटेड थिइन। तर अहिले मैले यात्रा पछि मैले धेरै प्रोत्साहन पाएको हुँ।
१४) यात्रा तपाईँको लागि के हो ?
घुमफिरका लागि यात्रा मलाई धेरै मन पर्दैनथ्यो। तर बिस्तारै साथीहरुसँग रमाइलो गर्दै घुम्न मजा आउँछ। मोसन सिकनेसले गर्दा अलि अफ्ठेरो हुने हो। सोलुखुम्बु, हेटौँडा, तराई । चलचित्र यात्रा चाँही मेरो दोस्रो पाइला हो।
१५) अगाडिको योजना के छ ?
यो पनि मैले दर्शकको हातमा छोडिदिएको छु। उहाँहरुकै मायाले म दोस्रो चलचित्रमा आएको छु। उहाँहरुलाई मन पर्न थालेन भने म हट्छु नै। मलाई क्यारेक्टर बेसको चलचित्रमा काम गर्ने मन छ। अलि ‘साइको’ ग्याङस्टारको पात्र भएर काम गर्ने मन छ। अहिले चकलेटी रोलमा छु, भिलेन भएर पनि काम गर्ने मन छ। ‘द डार्क नाइट’ को पात्रबाट म प्रभावित छु।