काठमाडौँ– सांगीतिक क्षेत्रमा अर्जुन मिलनको नामले परिचित संविधानविद डाक्टर भिमार्जुन आचार्यको सांगीतिक गजल संग्रह ‘अतित’ को लोकार्पण भएको छ।
सर्वनाम थिएटरमा शनिवार भएको कार्यक्रममा गायक अर्जुन मिलन, गीतकार कालीप्रसाद रिजाल, कवि तथा गीतकार दिनेश अधिकारी, संगीतकार सन्तोष श्रेष्ठ, डाक्टर सनतकुमार वस्ती, प्राध्यापक नारायण नेपाल र गायक तथा संगीतकार नारायण रायमाझीले गजल संग्रह सार्वजनिक गरेका हुन्।
कार्यक्रममा बोल्दै गीतकार कालिप्रसाद रिजालले अर्जुन मिलन बहुमुखी प्रतिभा भएको व्यक्ति भएको बताए। ‘हाम्रो देशमा प्रतिभाको भर मात्रै परेर बाँच्न सक्ने स्थिती हिजो पनि थिएन, आज पनि छैन र अझै कति समयसम्म त्यो नहुन सक्छ,’ उनले भने, ‘तर त्यो प्रतिभालाई लुकाएर राखि रहँदा त्यो प्रतिभाले कुनै न कुनै समयमा झक्झक्याउने काम गर्दछ, जुन अर्जुन मिलनले फेरी देखाउनु भएको छ, आफ्नो प्रतिभालाई बाहिर ल्याउनु भएको छ।’
युवा संगीतकार सन्तोष श्रेष्ठले नेपाली संगीतको सुरुवात गजलबाट नै भएको बताए। ‘अतित बाहिरबाट हेर्दा जति सुन्दर एल्बम छ, त्यो भन्दा पनि एल्बम भित्रका गजल अति नै कर्णप्रिय छन्,’ उनले भने,‘यस्तै मिठा गजल गाउन थालिएपछि मात्र नेपालमा संगीतको सुरुवात भएको हो।’
उक्त गजल संग्रहमा ६ वटा गजलहरु संग्रहित छन्। जसमा पहिलो गजल ‘फूललाई दुख्यो होला तिमी चर्किदा, रुखो प्यासो धरतीको माटो थर्किदा’ बोलको रहेको छ। जसमा शब्द नारायण नेपालको रहेको छ भने संगीत यादव योगीको छ।
दोस्रो गजल ‘मौनताको शहरमा हल्ला चलेको छ, हरदम किन किन जीवन गलेको छ’ बोलको छ। जसमा शव्द, संगीत अर्जुन मिलनको आफ्नै छ। संग्रहको तेस्रो गजल ‘एकान्तमा आँशु बन्दै झर्ने बानी बसिसक्यो, सास फेर्दाफेर्दै पनि मर्ने बानी बसिसक्यो’ रहेको छ। यसमा शब्द किरण खरेलको रहेको छ भने संगीत अर्जुन मिलनको रहेको छ।
चौथो गजल ‘ओठ तिम्रै गजल गुनगुनाइरहोस्, जति बिर्से पनि याद आइरहोस्’ रहेको छ। जसमा शब्द डा. सनद कुमार वस्तीको रहेको छ भने संगीत दिपक जंगमको छ। पाँचौ गजल ‘जीवनको सार बल्ल मिल्दैछ सुस्त सुस्त, बाँच्ने आधार बल्ल मिल्दैछ सुस्त सुस्त’ रहेको छ। जसमा शव्द सुमत कोइरालको रहेको छ भने संगीत महेश खड्काको रहेको छ।
अन्तिम तथा छौँठौ गजल ‘अतितसँग आफूलाई साट्न पाए हुन्थ्यो, हिजोको त्यो साथी भेट्न पाए हुन्थ्यो’ बोलको छ। जसमा शब्द तथा संगीत अर्जुन मिलन स्वयमको रहेको छ।
कार्यक्रममा अर्जुन मिलनले आफ्ना गजलका केही हरफहरु समेत प्रस्तुत गरेका थिए।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































