जनकपुरधाम-प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सर्वदलीय बैठकको आह्वान गरेका छन्। माघ १८ गते विहीवार दिउँसो १ बजे सर्वदलीय बैठक बोलाइएको छ।
माघ २१ गतेको हुन लागेको प्रदेशसभाको पहिलो बैठकलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने उद्देश्यले सर्वदलीय बैठकको आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
बैठक सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रदेशसभाका जेष्ठ सदस्य लगायत प्रदेशका प्रमुख राजनीतिक दल र प्रदेशसभामा निर्वाचित प्रत्येक दलबाट ३/३ वटा प्रदेशसभा सदस्यलाई बैठकमा बोलाइने छ।
जिल्ला प्रशासन कार्यालय परिसर भित्र रहेको अधिकृत संगमको सभाकक्षमा हुने सर्वदलीय बैठकमा प्रदेशसभाको पहिलो बैठक सञ्चालनको विषयमा छलफल गर्ने कार्यक्रम छ।
प्रदेश प्रमुखकको कार्यालयमा प्रदेश प्रमुख कायस्थ लगायत संघीय संसद सचिवालयको सहसचिवको नेतृत्वमा आएको पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायको प्रमुख सहितकको उपस्थितिमा सम्पन्न बैठकले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो।
प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठक माघ २१ गते शैक्षिक तालिम केन्द्रमा हुने छ। प्रदेशसभाको पहिलो बैठकको लागी तिव्र रुपमा तयारी भइ रहेको छ।
यता, प्रदेशसभाको बैठक सञ्चालनमा सहयोग गर्ने उद्देश्यले संसद सचिवालयको सहसचिवको नेतृत्वमा चार जना कर्मचारी जनकपुर आएको बुझिएको छ।