
मोरङ-सुनसरीको चतराधाममा दोश्रो पिण्डेश्वर अर्धकुम्भ मेलामा कुम्भ स्नान गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ।
वैशाख २६ गतेसम्म चल्ने मेलामा २ करोड श्रद्धालु भक्तजनहरुले कुम्भ स्नान गर्ने बताइएको छ। कुम्भ स्थालमा ५९ फिट अग्लो कुम्भ स्तम्भ समेत निर्माण गरिएको छ ।
त्यसैगरी, चतरामा पहिलोपटक २०५९ सालमा महाकुम्भ मेलाको आयोजना गरिएको थियो। जसको अगुवाई प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले गरेका थिए ।
त्यसैको निरन्तरताको क्रममा अर्धकुम्भ मेला पनि आयोजना गर्न थालिएको हो। यस मेलाका लागि प्रदेश नम्बर एक सरकारले पनि सहयोग गरिरहेको प्रदेश सचिव केदार न्यौपानेले जानकारी दिए। प्रदेश सचिव न्यौपानेले कुम्भ स्नानको महत्वले बराहक्षेत्र चतरालाई पूर्वको धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न भूमिका खेल्ने बताए।
प्रत्येक ६ वर्षमा लाग्ने मेलालाई अर्धकुम्भ मेला भनिन्छ। अर्धकुम्भ मेला शुरु हुनुअघि नै गत शुक्रबार चैत २२ गते धरानको पिण्डेश्वर मन्दिरमा कुम्भ घडाको पुजा र रुद्री पुजा गरेर शुरुवात गरिएको थियो।