ललितपुर— फूल्चोकीमा हिउँ खेलेर फर्किने क्रममा एक साताअघि हराएका ललितपुरकाे एक विद्यालयका १७ वर्षीय किशोर जाेन तामाङ बुधबार सकुशल भेटिएका छन्।
फूल्चाेकीमा प्रहरीले घाेषणा गरेकाे डेन्जर जाेनमा ती किशाेर भेटिएका हुन्। प्रहरीले भेट्ने छाँट नदेखेपछि बेपत्ता किशाेरका अाफन्तले माउन्टेनियरिङ टाेलीलाइ खटाएका थिए।
सातदाेबाटाे प्रहरी वृत्तका प्रमुख विनाेद सिलवालले भने- बेपत्ता बालकका परिवारले पठाएका अाफन्तले जाेनलाइ भेटेका हुन्। तीन चार जनाकाे समूह थियाे उहाँहरुकाे। उहाँहरु माउन्टेनियरिङ क्षेत्रमा अाबद्ध रहेकाे बुझेकाे छु।
डीएसपी सिलवालका अनुसार फूल्चाेकीबाट फर्कने सटकट बाटाेभन्दा करिब १० किलाेमिटर तल डेन्जर जाेनमा भेटिएका थिए जाेन।
सिलवालले जाेनकाे अवस्था खतरामुक्त रहे पनि बीएनबीमा इमर्जेन्सीमा राखेर उपचार भइरहेकाे जानकारी दिए। उनले भने- उनकाे शरीरमा कतै चाेट छैन। अवस्था खतरामुक्त छ। तर धेरै समयपछि जगलमा भेटिएकाले इमर्जेन्सीमा राखेर उपचार भइरहेकाे छ।
ललितपुरको थसिखेलस्थित अजय शिशू सदनमा कक्षा ६ मा अध्ययनरत जाेन गत बिहीबार फुल्चोकीमा हिउँ हेरेर फर्किँदा हराएका थिए। विद्यालयका प्रिन्सिपलसहित ५ र ६ का ११ विद्यार्थी हिउँ हेर्न गएका थिए। विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओली प्रहरी नियन्त्रणमा छन्।
सम्बन्धित समाचार…
फूल्चोकीमा हिउँ खेलेर फर्किने क्रममा हराएका किशोर एक सातापछि सकुशल भेटिए