
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा उपाधि होडमा आफूलाई टिकाइ राख्ने प्रयासमा रहेको म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।
अवे मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामसँग २–० ले पराजित भएको हो । आक्रामक रणनीतिका सााथ मैदान उत्रिएको टोटनह्यामले वेम्बलीमा भएको खेलमा ११ सेकेण्डमै अग्रता लिएको थियो ।
खेल सुरु भएको ११ सेकेण्डमा क्रिष्टियन एरिक्सनले गोल गर्दै पोकेटिनोको टिम टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए । यस्तै अर्को गोल भने म्यानचेस्टर युनाइटेडले उपहारको रुपमा दियो ।
२८ औँ मिनेटमा युनाइटेडका फिल जोन्सले बल नियन्त्रण गर्ने क्रममा आफ्नै पोष्ट मा गोल प्रहार गरे । यसपछि टोटनह्यामले २–० को अग्रता लियो । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र युनाइटेड २–० ले नतिजा टोटनह्यामको पोलटामा सुम्पिन बाध्य भयो ।
एरिक्सनले ११ सेकेण्डमा गरेको गोल प्रिमियर लिगको इतिहासमा सबैभन्दा छिटो भएको भएका गोलको सूचिमा दोस्रो स्थान रहेको छ । प्रिमियर लिगमा १० सेकेण्डमै पनि गोल भएको छ ।
जितपछि पोकेटिनोले खेलको सुरुमै अग्रता लिनु ठूलो कुरो रहेको बताए । युनाइटेडका प्रशिक्षक मोरिन्होले पहिलो गोल उत्कृष्ट रहेको र दोस्रो गोलले आफ्नो टिमलाई मानसिक रुपमा हत्या गरेको बताए ।
हारपछि दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २५ खेलबाट ५३ अंक छ र उ शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १५ अंकले पछि परेको छ । पाँचौँ स्थानको टोटनह्यामको २५ खेलबाट ४८ अंक भएको छ ।