
इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले लिग अन्तर्गत बुधबार राति भएको खेलमा जित निकाल्दै १५ अंकको अग्रता कामय गरेको छ ।
लिग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा वेष्ट ब्रोमलाई ३–० ले हराउँदै पेप गार्डिवलाकोटिम सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अग्रता १५ अंकमा पुर्याएको हो। युनाइटेड राति नै भएको खेलमा टोटनह्यामसँग २–० ले पराजित भयो ।
म्यानचेस्टर सिटीको जितमा फरनान्डिन्हो, केविन डी ब्राउन र सर्जियो अग्युरोले गोल गरे । १९ औँ मिनेटमा फरनान्डिन्होको गोलबाट सिटीले पहिलो हाफमा १–० को अग्रता लियो । ६८ औँ मिनेटमा डी ब्राउनले अग्रता दोब्बर पारे । यस्तै ८९ औँ मिनेटमा अग्युरोले गोल गरेपछि सिटी ३–० ले विजयी भयो ।
जितपछि उसको २५ खेलबाट ६८ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ५३ अंक छ । पुछारमा रहेको वेष्ट ब्रोमको २० अंक मात्रै छ ।
लिग अन्तर्गत राति नै भएका खेलमा न्युक्यासल र बर्नली तथा साउथह्याम्पटन र ब्राइटनले समान १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । यस्तै स्टोक सिटी र वाट्फोर्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।