
इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटी जाने लेस्टर सिटीका रियाद महरेजको सपना टुटेको छ । विन्टर ट्रान्सफर विण्डोको अन्तिम दिन बुधबार महरेज लेस्टरबाट म्यानचेस्टर सिटी जाने तयारी थियो ।
त्यसका लागि अल्जेरियन महरेजले मंगलबार लेस्टरसँग ट्रान्सफरका लागि आग्रह गर्दै निवेदन पनि दिएका थिए ।
तर लेस्टरले महरेजका लागि म्यानचेस्टर सिटीसँग धेरै रकम मागेका कारण सफल हुन सकेन । पेप गार्डिवलाको टिम म्यानचेसटर सिटी महरेजका लागि लेस्टरलाई ६५ मिलियन पाउण्ड तिर्न तयार भएको थियो ।
तर लेस्टर भने महरेजका लागि ९५ मिलियनको माग गर्यो । लेस्टरको माग धेरै भएपछि म्यानचेस्टर २६ वर्षे महरेजलाई अनुबन्ध गर्ने प्रयासबाट पछि हट्यो ।
सिटीका प्रशिक्षक गार्डिवलाले महरेजलाई अनुबन्ध गर्ने प्रयासबाट पछि हटेकोमा क्लबको प्रशंसा गरेका छन् । क्लब अहिले ठूलो रकम खर्चिन सक्नेगरी धनी नरहेको उनले बताए ।
निराश महरेज
दुई वर्षअघि लेस्टर सिटीलाई अप्रत्यासित रुपमा प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका महरेज अहिले पनि राम्रो लयमा छन् ।
उनी लेस्टरबाट बाहिर त्यो भन्दा ठूलो क्लबमा खेल्न चाहन्छन् । तर लेस्टरको महत्वकांक्षाले उनको त्यो सपना यसपटक पनि टुटेको छ ।
सिटीले महंगो भएको भन्दै अनबन्ध प्रयासबाट पछि हटेपछि महरेज निकै कमजोर अवस्थामा छन् ।
उनी अहिले मानसिक रुपमा टुटेको अवस्थामा छन् । तर लेस्टरले भने उनलाई अनुहारमा मुस्कानसहित मैदानमा फर्किनका लागि सहयोग गर्ने बताएको छ ।
लेस्टरका प्रशिक्षक क्लाउडी पुएलले अहिले महरेजका निकै खराब अवस्थामा रहेको तर उनलाई सजिलोसँग मैदान फर्किने वातावरण बनाउन क्लब तयार रहेको बताए ।
महरेज सन् २०१४ को जनवरीमा लेस्टर आएका हुन् । उनी सन् २०१६ मा पिएफए प्लेअर अफ दि इयर भएका थिए । उनले लेस्टरबाट शीर्ष लिगका १२७ खेलमा ३५ गोल गरेका छन् भने २४ गोलका लागि सहयोग गरेका छन् ।