वैशाख पाँच गते बिहान ०२.३१ बजे नेपालको आफ्नै भूउपग्रह प्रक्षेपण हुने

वैशाख पाँच गते बिहान ०२.३१ बजे नेपालको आफ्नै भूउपग्रह प्रक्षेपण हुने
+
-

ललितपुर – नेपालको पहिलो पटक अप्रिल १७ अर्थात् यही वैशाख ५ गते बिहान २ बजेर ३१ मिनेटमा आफ्नै भूउपग्रह प्रक्षेपण हुने भएको छ ।

जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा उक्त कार्यक्रम जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अघि बढ्न लागेको हो ।

‘बर्ड–३’ ले जापान, नेपाल र श्रीलङ्काको भूउपग्रह अमेरिकाबाट एकैसाथ प्रक्षेपण गर्न लागेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।

नेपाली भूउपग्रहको नाम ‘नेपाली क्यूबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ राखिएको छ । ढकालले भने, “भूउपग्रहले देशका विभिन्न स्थानका तस्वीर सङ्कलन तथा अभिलेखीकरण गर्नाका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।”

नाशाको बेवसाइटअनुसार अमेरिकाको पूर्वी समयअनुसार उक्त भूउपग्रह प्रक्षेपण हुन लागेको हो । सरकारलाई पर्ने राष्ट्रिय भार कम गराउँदै भूउपग्रह प्रक्षेपणमा नेपालका तर्फबाट कोही जापान प्रस्थान नगर्ने भएको बताइएको छ ।

“भूउपग्रह अन्तरिक्षमा पठाइसकेपछि यसले उचित स्थान लिएको दिन नेपालका केही पदाधिकारी जापान जाने कुरा अघि बढेको छ”, ढकालले थपे, “यो भूउपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेशनल स्पेस स्टेशनमा रहने छ । ”

नेपालीस्याट– १ नामक उक्त भूउपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अङ्कित हुने छ । नाष्टले भूउपग्रहको सूचना लिनाका लागि आफ्नै कार्यालयमा ग्राउण्ड स्टेशन निर्माण गर्ने तयारी अघि बढेको छ ।

उक्त स्टेशन निर्माणका लागि हाल २१ दिने सूचनासहितको बोलपत्र आह्वान गरिएको नाष्टका इञ्जिनीयर रोशन पाण्डेले जानकारी दिए ।

“तीन चार इच्छुक पार्टीले टेण्डरको पत्र लगिसकेका छन्”, पाण्डेले भने, “ग्राउण्ड स्टेशनमा भूउपग्रहले पठाएको तथ्याङ्कहरूको विश्लेषण र सङ्कलन हुने गर्छ । ”

नाष्टमा पहिले लामो समय उपकुलपति नियुक्त नहुँदा ग्राउण्ड स्टेशन निर्माणका लागि व्यवस्थापकीय समस्या परेको हो । विगतमा उपकुलपति र हाल सचिवको पद रिक्त रहँदा केही समस्या हुन्छ कि भन्ने महसुस गरिएको छ ।

जाक्साले नाष्टलाई ९५ प्रतिशत सम्भावना भएको प्रविधिका साथै १०० प्रतिशत क्षमता भएको अर्बिटमा छाड्ने दर उपलब्ध गराइसकेको छ । ग्राउण्ड स्टेशनको एण्टिनाको दिशाले समस्या नपारेमा भूउपग्रहबाट छिट्टै जानकारी पाउन सकिने बताइएको छ ।

मास्के र श्रेष्ठको भूमिका

नाष्टले भूउपग्रह प्रक्षेपण गरिसकेपछि मास्के र श्रेष्ठ जापानमा रहँदासम्म दैनिक त्यहाँको जानकारी सहकार्र्य गरेर अघि बढ्नेछन् । उनीहरु हाल ‘बर्ड–४’ परियोजनाअन्तर्गत फिलिपिन्स, पनामा र जापानको भूउपग्रह निर्माणमा जुटेका बताइएको छ ।

नाष्टका श्रेष्ठ एक वर्षको अध्ययन समाप्त गरेर नेपाल फर्कने छन् भने क्यूटेक विश्वविद्यालयको सदस्यका रूपमा रहेका मास्केका लागि नाष्टले कार्यालयमा प्रयोगशाला निर्माण गरेर काम गराउने योजना अघि बढाएको छ ।

नाष्टले जाक्साको सहयोगमा नेपाललाई कसरी सहयोग गर्न सक्छ भनी एउटा भिडियो अभियान चलाइने योजना बताएको छ । नाष्टले आउँदा दिनमा सो कार्यक्रमलाई निरन्तरता दिने त्यहाँका एक कर्मचारीले बताउँछन् ।

नाष्टले भूउपग्रहबाट सङ्कलन गरेको तस्वीर उच्च क्षमताको हुने छैन । शहरी पूर्वाधार निर्माण र नापी विभागका लागि पनि उक्त तस्बिर काम लाग्दैन । अमेरिकाको अन्तरिक्षमा उडाई जापानबाट प्रक्षेपण गरिने उक्त कार्यक्रम अन्तरराष्ट्रिय सहकार्यको एउटा नमूना बन्ने भएको विज्ञ बताउँछन् । यसले नेपाली प्राविधिकको आत्मगौरव बढाउनाका साथै उनीहरूमा उत्साह थप्ने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?