
काठमाडौँ– ‘अपांगता नभएको भए हलो र नाङ्लो बनाउने काममा सीमित हुन्थेँ कहाँ पाउँथेँ म जीवनको महत्व बुझ्न र बुझाउन?’ शारीरिक अपांगतालाई भुक्तभोगीहरुले यति सकारात्मक रुपमा लिइएको यो दुर्लभ अभिव्यक्ति हो।
ललितपुरको सानेपाबाट करिब १२ किलोमिटर धुलाम्मे सडक छिचोलेपछि आउने लुभुमा एउटा सानो घरमा कुरिरहेका थिए उनी देशसञ्चारको टिमलाई। गफिएको करिब एक घण्टापछि भावुक बन्दै भोजराज श्रेष्ठले त्यो निष्कर्ष निकालेका थिए।
झण्डै ४९ वर्षको आफ्नो संघर्षपूर्ण भोगाई, तिरस्कार र विश्लेषणको पृष्ठभूमिमा त्यो निष्कर्षमा पुगेका थिए उनी। ९ महिनाको शिशु हुँदा दुवै खुट्टा नचल्नु र त्यसको असर शरीरका अन्य भागमा पर्नुलाई भोजराज अभिसाफ भने ठान्दैनन्। बरु भन्छन्, ‘अपांगता भएकाले मैले अनपेक्षित अवसर प्राप्त गरेँ।’
पोलियोका कारण भोजराजको केही महिनाको अन्तरालमा दुवै खुट्टा चलेनन्। तीन महिनासम्म ओछ्यानबाट उठ्न सकेनन्, धामीझाँक्रीले नछुनु स्वभाविक थियो।
तर डाक्टरको उपचारले पनि निको भएन। उनी लामो समय जीवित रहने विश्वास पनि थिएन परिवारमा। तर पाँच वर्ष पुग्नै लाग्दा उनी बस्न सक्ने भए हर्षले उनलाई घरमै पढाउन थालियो। ‘भान्सा कोठा माथिल्लो तलामा, म नहुँदा कसले देला खान छोरालाई भन्दै आँसु खसाल्नुहुन्थ्यो आमा’ त्यो भन्दा भोजराजका आँखा रसाए।
आमाको आँसुलाई शक्तिमा बदल्ने कोशिस गरे उनले, खानाका लागि भ¥याङ चढ्न र ओर्लन सिके। घस्रिएर आँगनको फेरो मार्न थाले। पढेर, देखेर या भोगेर मानिस परिपक्क हुन्छन्। भोजराजले भने अरुलाई सुनेर जीवन बदल्ने आँट गरे। शरीरिक कमजोरीमा शक्ति खोजे। बाटै छेउको भोजराजको घर सामाजिक र राजनीतिक परिवर्तनबारे गफिने थलो बनेको थियो खासगरि नेताहरुका लागि। उनीहरुलाई सुन्न घस्रिदै पिँडीमा आउने गर्थे हरेक पल्ट।
गरिबी, अशिक्षा, विकृति र कुरितीबारे धेरै कुरा सुनेका थिए उनले। १५ वर्ष पुग्दा मनका कुरा व्यक्त गर्ने समेत भए। जिज्ञासा बढ्यो। किताब खोजेर पढ्न थाले। स्वावलम्बन भावना जागृत हुन थाल्यो। दया हैन काम खोज्न थाले। फलफुल किनेर बिक्री गर्न थाले घरमै। २०४० सालमा कक्षा पाँचमा भर्ना भए, जंगलको बाटो, घिस्रिदै स्कुल पुगे। भाई पहिलो उनी दोस्रो भए।
उनलाई कसैले हलो बनाउन त कसैले नाङ्गलो बनाउन सुझाए।
‘विद्या धनं सर्व धनम् प्रधानम्’ भन्ने धेरै पटक सुनेका थिए उनले। पढ्नका लागि सबेरै सुनकोशीस्थित सारदा उच्चमावि झरे, घिस्रिदै, पल्टिदै। स्कुल नजिक छिमेकी दिदीको कोठामा पुगे साँझपख। उनका लागि ओढ्ने–ओछ्याउने, रासन र गुन्द्री बोकेर आमा पनि सँगै झरिन्।
ढिला भए पनि कक्षा सातमा भर्ना भएका उनी पढाईमा अब्बल हुँदै गए। १० कक्षा पुगुञ्जेल दोस्रो स्थान हाँसिल गर्न सफल भए। पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि भाग लिन थाले। रेडक्रसको नेतृत्वसँगै आफूलाई जायज लागेका अन्य आन्दोलनको नेतृत्व पनि गर्न थाले । एसएलसी उत्र्तिण भएपछि राजधानी छिरेका उनले शंकरदेव क्याम्पसबाट आईए पास गरे। पुतलीसडकस्थित क्याम्पसमा घस्रिदै पुग्नुमा पढाई भन्दा धेरै शक्ति खर्च हुन्थ्यो उनको। ‘जसरी हुन्छ पढ्नु थियो, घिस्रिनुको विकल्प थिएन’, भोजराजले सुनाए, ‘व्हीलचियरबारे थाहा थिएन।’
आईएको परीक्षा दिएर घर पुग्दा २०४६ सालको जनआन्दोलनले तातेको थियो उनको गाउँ। त्यसको नेतृत्व गरे। पछि बाह्रबिसेमा व्यापार गर्दा गर्दै उनी सामाजिक सेवातर्फ मोडिएका थिए। ‘व्यापार आफ्ना लागि। जागिर पनि आफ्नै लागि। तर सामाजिक सेवा अरुका’, उनी स्पष्ट थिए यो मान्यतामा। आफु जस्तैका लागि केही गर्न सकिए सबै र सँधैका लागि हुन्छ भन्ने लाग्यो’, उनले भने ।
२०४७ सालमा सिन्धुपाल्चोक बहिरा संघको सल्लाहकार बनेपछि नेपालमा पहिलो पटक सिन्धु बहिरा विद्यालय सञ्चालन गर्न सफल भए उनी। २०५४ सालमा जिल्लामा पहिलो पटक अपांगताको क्षेत्रमा बजेट विनियोजन भयो। र अपांगता भएका व्यक्तिलाई पढाउन तालिम प्राप्त शिक्षक गाउँ झिकाउन सफल भए। टाठाबाठाले सेवाको नाममा ठगि गर्ने प्रवृतिबारे उनी सचेत थिए। जिल्ला शिक्षा अधिकारीले सांकेतिक भाषाको शिक्षकलाई सरुवा गराएर अर्कैलाई ल्याइदिएपछि त्यसको विरुद्धमा उनी खनिए र राजधानी धाएरै सांकेतिक भाषाका शिक्षक गाउँ झिकाउन सफल भए।
‘जिल्ला शिक्षा अधिकारी सबै नेतालाई जिते पनि भोजराजलाई सकिन भन्ने गर्थे,’ भोजराज सम्झन् । राष्ट्रिय अपांग महासंघको केन्द्रीय सदस्य बनेपछि उनको जिम्मेवारी बढ्यो। २०६२–६३ को आन्दोलनमा अपांगता भएकाहरुको नेतृत्व गर्दै राजधानी आए उनी। आन्दोलन ताका जापानमा एक वर्ष स्वावलम्बन जीवन पद्दतिको तालिम लिएर आत्मबल तथा परिर्वतनका साथ स्वदेश फर्केका कृष्णसँग भेट भयो। सरकारी सेवासुविधा र अधिकारबाट बञ्चित घरभित्रै थन्किएका जीवनका लागि काम कृष्णको सोचमा सहमत भए।
भोजराज, कृष्णसँगै अन्य साथीहरुको सहकार्यमा काठमाडौँ हुँदै ललितपुर स्वावलम्बन जीवन पद्दति केन्द्र जन्मियो। लक्ष्मी त्यही जोडिन पुगेकी थिइन्।
सानेपा कार्यालय आउन भोजराज लुभुबाट ८ बजेनै स्कुटर मोड्छन्। अव्यवस्थित सडकमा कहिलेकाँही स्कुटर फस्छ, पेट्रोल सकिन्छ। प्राय सबैले रमिता हेर्छन्। ‘भिड जम्मा हुन्छ। अनुरोध गरेपछि मात्रै स्कुटर धकेलिदिन्छन्। स्कुटरबाट झर्दा सबैभन्दा गाह्रो हुन्छ। व्हीलचियर गुडिदिन्छ बस्न खोज्दा अनि बजारिन्छन् भुँईमा। महिनौ हात चलाउन सक्दिन’, उनले आफ्नो दुःख पोखे। तर उनी लडेपछि कहाँ चुप लाग्छन् र? उनले बुझिसकेका छन्, जसले लडेपछि उठ्ने प्रयास गर्दैन त्यसले हार मात्र भोग्छ।
अनेक हण्डर खाए पनि भोजराजलाई अपांगता अभिषाप नभई गर्व बनेको छ। पहिलो पटक मन्त्रीपरिषद्बाट शान्ति तथा पुनर्निर्माण परामर्श समितिको सदस्यमा अपांगताको क्षेत्रमा तीन पटक नियुक्ति पाउने उनै हुन्। प्रधानमन्त्रीको सल्लाहाकार बने। अपांगता भएकै कारण उनको समुदायमा उच्च शिक्षा हासिल गर्ने पहिलो व्यक्ति बने। समाजकल्याणको पनि सदस्य रहेका उनले अन्तर्राष्ट्रिय मुलुकमा भ्रमण गर्ने मौका समेत पाए।
खुशी हुँदै उनले भने, ‘म बाँचेको अर्थ छैन भन्ने अवस्थामा पुगेकाहरुलाई बचाउन प्रयास गर्दा उनलाई सबैभन्दा बढी खुशी मिल्छ। जीवनको महत्वपूर्ण समय अपांगताको हकअधिकारका लागि एक्लै संघर्ष गरेका भोजराजले ५० वर्ष पुग्नै लाग्दा विवाहको सुरसार गरेका छन्।
उनले आफू भन्दा पनि पूर्ण अशंक्त ‘सिवियर’ अपांगता भएकी १५ वर्ष कान्छी कमला श्रेष्ठसँग छिट्टै विवाह गर्दै छन्। सञ्चार क्षेत्रमा जमेकी कमलाको दुईवटा हात र एउटा खु्ट्टा छैन। ‘हामीले राज्यको थोरै सहयोग पाउने हो भने हामी सबै काम गर्न सक्छाैँ तर हामी स्वावलम्बन हुन सक्छौँ। अझ मुख्य कुरा हामी स्वावलम्बी हुन सक्छौँ। यो साबित हुन एउटा रोल मोडल हुने प्रयास गर्दैछु।’