
स्पेनिस ला लिगा फुटबलमा यो सिजन खराब प्रदर्शन गर्दै आएको साबिक विजेता रियल मड्रिड फेरि बराबरीमा रोकिएको छ ।
लिग अन्नतर्गत शनिबार राति भएको खेलमा जिनेदिन जिदानको टिम रियल मड्रिड लेभान्टेसँग २–२ को बराबरीमा रोकिएको हो । यो सिजनको सुरुमा गएको सेप्टेम्बरमा पनि रियल मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ ।
अवे मैदानमा भएको खेलमा अन्तिम मिनेटसम्म अघि रहेको रियल मड्रिड अन्त्यमा आएर बराबरीमा रोकिन बाध्य भयो । ११ औँ मिनेटमा सर्जियो रोमोसको गोलबाट रियलले सुरुवाति अग्रता लियो ।
तर ४२ औँ मिनेटमा इम्यानुएल बोएट्याङले लेभान्टेका लागि बराबरी गोल फर्काए । ८१ औँ मिनेटमा इस्कोले गोल गर्दै रियल मड्रिडलाई जित तर्फ उन्मुख गराएका थिए ।
तर उसका लागि ८९ औँ मिनेट घातक बन्यो । गिएम्पाओलो पाज्जिनीले लेभान्टेका लागि बराबरी गोल फर्काए । बराबरीपछि चौथो स्थानको रियल मड्रिडको २१ खेलबाट ३९ अंक भएको छ । उ शीर्ष स्थानको बार्सिलोना भन्दा १८ अंकले पछि छ ।
यो सिजन ला लिगामा रियलले ६ खेल बराबरी गरेको छ भने चार खेलमा पराजित भएको छ । उ पाँचौँ स्थानको भ्यालेन्सिया भन्दा मात्रै दुई अंकले अघि छ । रियल मड्रिडको रक्षपंती कमजोर हुँदा जितिसकेको खेल पनि हार्न पुगेको हो ।
रियल मड्रिडले दोस्रो हाफमा गोल गर्ने थुप्रै राम्रा मौका गुमाएको थियो । त्यसमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको प्रहार पनि थियो । करिम बेन्जिमाको प्रहार पनि गोलमा परिणत हुन सकेनन ।
राति नै भएका अरु खेलमा एइबरले सेभिल्लालाई ५–१, रियल बेटिसले भिल्लारियल तथा एलाभेसले सेल्टा डी भिगोलाई समान २–१ ले हरायो ।