
फ्रेन्च लिग वान फुटबल लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले लिग अन्तर्गत शनिबार राति भएको खेलमा सहज जित निकालेको छ ।
अवे मैदानमा भएको खेलमा पिएसजीलाई जिताउनका लागि बेर्चिची इजिटा, नेइमार र लो सेल्सोले एक एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा इजिटाले गोल गर्दै पिएसजीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।
७७ औँ मिनेटमा नेइमारले गोल गर्दै अग्रता दोब्बर पारे । यहि सिजन बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा आएका नेइमारले पिएसजीबाट २५ गोल गरिसकेका छन् ।
यस्तै ८७ औँ मिनेटमा लो सेल्सोले गोल गरेपछि पिएसजी ३–० ले विजयी भयो । जितपछि पिएसजीले दोस्रो स्थानको मार्सेइलीसँग ११ अंकको दूरी कायम गरेको छ । पिएसजीको २४ खेलबाट ६२ अंक भएको छ भने मार्सेइलीको ५१ अंक छ ।