
इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता युभेन्टसले प्रभावशाली जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले सासुओलोलाई ७–० ले हराएको हो ।
पहिलो हाफमा चार गोल गरेको युभेन्टसले दोस्रो हाफमा थप तीन गोल गरेको हो । युभेन्टसलाई प्रभावशाली जित दिलाउने क्रममा गोन्जालो हेगुइनले ह्याट्रिक गरे ।
उनले ६३, ७४ र ८३ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । दोस्रो हाफका तीनै गोल हेगुइनले गरेका हुन् ।
त्यसअघि पहिलो हाफमा नवौँ मिनेटमा एलेक्स सान्ड्रोले गोल गरे । सामी खेदिराले २४ र २७ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै मिरालेम जानिकले ३८ औँ मिनेटमा गोल गरेका थिए ।
७–० को प्रभावशाली जितपछि युभेन्टस दोस्रो स्थानमा कायम छ । उसको २३ खेलबाट ५९ अंक भएको छ । आइतबार राति नै भएको खेलमा पुछारमा रहेको बेनेवेन्टोलाई २–० ले हराएको नापोली शीर्ष स्थानमा कायम छ । उसको २३ खेलबाट ६० अंक भएको छ ।