
जनकपुरधाम- प्रदेश नम्बर २ को प्रदेशसभामा सांसदहरुले हिन्दी भाषामा बोलेपछि जनकपुरका स्थानीय आक्रोशित भएका छन्।
मंगलवार स्थानीय युवाहरुले आइतवार सम्पन्न प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुले हिन्दी भाषा बोलेको भन्दै राजपा र फोरमको विरोध गरेका छन्।
राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका सांसदहरुले प्रदेश सभामा मातृभाषा मैथिली, भोजपुरी र अन्य मातृभाषालाई बेवास्ता गर्दै सम्पर्क भाषाको रुपमा रहेको हिन्दी भाषामा बोलेपछि स्थानीयहरु आक्रोशित भएका छन्।
‘मातृभाषालाई प्रयोग र वैदेशिक भाषालाई सम्मान गर’ भन्दै यहाँका स्थानीयले विरोध गरेको अभियन्ता सुशील कर्णले बताएका छन्।
जनकपुरको जानकीचोकका युवाहरुले मंगलबार विरोध गर्दै राजपा नेपाल र फोरम नेपालको पुत्ला समेत दहन गरेको छ।
पुत्ला दहनको क्रममा प्रहरीसँग केही बेर झडपको अवस्था देखिए पनि केहीबेरमा अवस्था समान्य भएको थियो।
परिवर्तनका लागि युवा अभियानका प्रतिनिधि बिट्टु पजियार सुरिको अध्यक्षता तथा रौशन यादवको अगुवाइमा नाराबाजीसहित पुत्ला दहन गरिएको हो।