
दाङ–बुधबार देशभरिका सबै प्रदेशसँगै पाँच नम्वर प्रदेशको दाङमा पनि राष्ट्रिय सभा निर्वाचन हुँदैछ।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ। मतदानमा सहभागी हुन प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख यहाँ आइपुगेका छन्। कर्मचारी मिलन केन्द्रको प्राङ्गणलाई मतदानस्थल बनाइएको छ जहाँ दुई वटा मतदान केन्द्र छन्।
प्रदेशसभा सदस्यहरु र स्थानीय तहका प्रमुख उपप्रमुखहरुले छुट्टा छुट्टै मतदान केन्द्रमा भोट हाल्ने छन्। ‘दुई वटा मतदान केन्द्र निर्माण गरेका छौं, एउटा मतदान केन्द्रमा प्रदेश सदस्यहरुले र अर्काे मतदान केन्द्रमा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्नुहुनेछ,’ मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले भने, ‘निर्वाचनको तयारी सबै पुरा भएको छ, मतदान स्थल निर्माण गरिसकेका छौं, मतपत्रसहित अन्य सामग्री तयारी अवस्थामा राखेका छौं।’ मतदान स्थलमा प्रहरीले सुरक्षा निगरानी बढाएको छ। मंगलवार वेलुकावाटै प्रहरीको टोली मतदान स्थलको सुरक्षामा खटिएको हो।
मत संकेत गर्न स्वस्तिक छाप नहुने !
स्थानीय तह, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा मत संकेतका लागि स्वस्तिक छापको प्रयोग गरिएको थियो। तर, राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भने स्वस्तिक छापको प्रयोग हुने छैन।
एकल संक्रमणीय निर्वाचन प्रणाली अन्तर्गत अन्य शिर्षकमा उम्मेदवारी दिएका सदस्य चुन्न मतपत्रमा लेखिएको एक, दुई, तीन लेखेर संकेत गर्नुपर्ने छ। अल्पसंख्यक/अपाङ्गता र दलित कोटामा उम्मेदवारी दिएका सदस्य छान्न टिक लगाएर संकेत गर्नुपर्ने छ। ‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वस्तिक छाप लगाउनुपर्ने छैन,’ मुख्य निर्वाचन अधिकृत रावलले भने, ‘एक, दुई, तिन लेखेर र राईट लगाएर संकेत गर्नुपर्ने छ।’ मत संकेत गर्ने ठाउँमा डटपेन राखिएको छ।
यी हुन् उम्मेदवार
राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको तर्फवाट उम्मेदवारी दर्ता गरिएको छ। एक जना दलित कोटाका लागि २ जना, एक जना अल्पसंख्यक तथा अपांगता भएकाको कोटामा २ जनाबीच प्रतिस्पर्धा हुने छ। त्यस्तै अन्य तर्फ तीन जना सदस्य निर्वाचितका लागि ४ जनाबीच प्रतिस्पर्धा हुने छ।
दलिततर्फ एमालेका रामलखन हरिजन र नेपाली कांग्रेसका मैकुलाल बाल्मीकीबीच प्रतिस्पर्धा हुने छ। त्यस्तै अल्पसंख्यक तथा अपांगता तर्फ माओबादी केन्द्रका राजकुमार कवर र नेपाली कांग्रेसका लुटबहादुर खत्रीबीच प्रतिस्पर्धा हुने भएको हो। अन्य तर्फ तीन सदस्यका लागि नेकपा एमालेका खिमलाल भटराई, माओबादी केन्द्रका चन्द्रबहादुर खड्का, नेपाली कांग्रेसका दुर्गाप्रसाद उपाध्याय र राष्ट्रिय जनमोर्चाका रश्मिराज नेपालीबीच प्रतिस्पर्धा हुनेछ। प्रदेश नम्बर पाँचबाट तीन महिला सदस्यका लागि नेकपा एमालेका कोमल ओली, मिना बुढा र नेपाली कांग्रेसका अनिता देवकोटा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
बेलुका नै विजय घोषणा
राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान सकिएलगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणा स्थल तोकिएको छ। बेलुका दश बजेसम्म विजयको घोषणाको तयारी गरिएको छ। ‘बुधबार बेलुका १० बजे सम्म नतिजा बाहिर ल्याउनेगरी मतगणनाको तयारी गरेका छौं,’ मुख्य निर्वाचन अधिकृत रावलले भने, ‘एकल संक्रमणीय निर्वाचन प्रणालीमा नतिजा सुत्र प्रयोग गरेर निकाल्नुपर्ने हुन्छ, हामी तयारी अवस्थामा छौं।’
भिआईपी मतदातालाई प्रर्यटकीय स्थल घुमाइने
ठाउँ ठाउँमा स्वागतद्वार निर्माण गरिएका छन्। सरसफाइ गरेर शहर, बजार सुन्दर देखाउने काम स्थानीय तहले गरेका छन्। यस्तै मतदान गर्न जिल्लामा आएका प्रदेश सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुखलाई जिल्लाका विभिन्न पर्यटकीय स्थलमा भ्रमण गराउने घोराही उपमहानगरपालीकाले तयारी गरेको छ। धारपानी, बाह्रकुने दह, अम्विकेश्वरी मन्दिरलगायत स्थलसम्म लगेर अवलोकन गराउने कार्यक्रम रहेको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए।