
धनगढी – अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ मा आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । शुक्रबार राति गहुँको नल पोल्नका लागि बालिएको आगो हावाले उडाएर घरमा सल्केपछि घर जलेर नष्ट भएका हुन् ।
आगलागीबाट वडाअध्यक्ष भक्तबहादुर बुढासहित ईन्द्र बुढा, मीनबहादुर बुढा, न्यानु बुढा, धर्म बुढा जोगी बुढा, रूजा बुढा लगायतका घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
स्थानीय प्रेम बुढाले दिएको जानकारी अनुसार मीन बुढाको घरबाट सुरु भएको आगोले सात घर पुर्ण रुपमा जलेका छन् भने घरको गोठमा रहेका सबै पशु चौपाया समेत जलेका छन् ।
मीनको घर नजिक बारीमा झारपात जलाउन बालेको आगो घरमा सल्किएको अनुमान स्थानीयले गरेका छन् । आगलागी शनिबार बिहान मात्र नियन्त्रणमा आएको छ । रातभर स्थानीय र प्रहरी आगो नियन्त्रणमा जुटेका थिए ।