
एन्जल डी मारियाको ह्याट्रिकको मद्दतमा लिग टु क्लब सोसुलाई ४–१ ले हराउँदै पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति अवे मैदानमा भएको खेलमा नेइमार बिना उत्रिएको पिएसजीको जितमा डी मारिया नायक बनेका हुन् । उनले सात वर्षपछि पहिलो पटक ह्याट्रिक गरेका हुन्।
डी मारियाले सन् २०१० मा पोर्चुगिज लिगमा बेन्फिकाले लैसोइसलाई ४–० ले हराउने क्रममा ह्याट्रिक गरेका थिए । मंगलबार राति भएको खेलमा डी मारियाले खेलको पहिलो मिनेट, ५८ र ६२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
उनले ह्याट्रिक गर्नु अघि २७ औँ मिनेटमा एडिसन काभानीले २७ औँ मिनेटमा गोल गरेका थिए । त्यो भन्दा अघि १३ औँ मिनेटमा सोसुका मार्तिनले एक गोल गरेका थिए ।
९० औँ मिनेटमा ट्राप सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियाो ।