
मोरङ-राष्ट्रिय सभासदस्य निर्वाचनका क्रममा प्रदेश नम्बर एकमा दुई क्षेत्रमा एमालेका उम्मेद्वार विजयी भएकाछन्।
विराटनगरको वीरेन्द्र सभागृहमा बुधबार सम्पन्न निर्वाचनमा अल्पसंख्यकतर्फ इलामका अगमप्रसाद बान्तवा र विराटनगरका दलिततर्फ खेम नेपाली विजयी भएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार, अपाङ्ग तथा अल्पसंख्यकतर्फ एमालेका अगमप्रसाद वान्तवाले कांग्रेसका महेश जाजुलाई ३२४० अंक मतभारको अन्तरले पराजित गरे।
यस क्रममा बान्तवाले कुल ६१३८ अंक मतभार पाएका थिए। त्यसैगरि पराजित जाजुले २८९८ अंक मतभार प्राप्त गरे। यस क्षेत्रमा २ प्रदेश सभासदस्य र १० स्थानीय तहको मत गरि कुल २७६ मतभार बदर भएको थियो।
त्यसैगरि, दलिततर्फ एमालेका खेम नेपालीले कुल मतमुल्य ६२७० पाउदै जित सुनिश्चित गरे। नेपालीले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विन विश्वकर्मालाई ३४३८ मतभारले पराजित गरेका हुन्।
विश्वकर्माले कुल २८३२ मतभार पाएका थिए। दलिततर्पm १ जना प्रदेश सभासदस्य र ९ जना स्थनीयतहको गरि कुल २१० मतभार बदर भएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम सञ्जेलले जानकारी दिए।
प्रदेश नम्बर एकको अन्य महिला र खुल्लातर्फ भने यसअघिनै ६ पदाधिकारी निर्विरोध भइसकेका छन्।
कुल ३ सय ६७ मतदाता मध्ये प्रदेश सभासदस्यबाट ९२ र स्थानीयतहबाट २ सय ७२ जना गरि कुल ३ सय ६४ मतदाताले मतदान गरेको मुख्य निर्वाचन कार्यालय विराटनगरका अनुसार मतदानमा कुल ३ सय ६४ मत खसेको थियो।
संखुवासभा मकालु गाउपालिकाका अध्यक्ष खड्गप्रसाद कट्वालको निधन भएकोपछि उनको मताधिकार प्रयोग हुन सकेन।
त्यसैगरी संघीय लिम्बूवान राष्ट्रिय मञ्च प्रदेश सभासदस्य विष्णु तुम्बाहाम्फे र ताप्लेजुङ मिक्वाखोला गाउपालिका उपाध्यक्ष रुद्रकुमारी साँवा मतदान प्रक्रियामा सहभागि नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।