
धनगढी-सुदूरपश्चिम प्रदेश सभामा पेश भएको प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मंगलबारदेखि प्रदेश सभामा छलफल शुरु भएको छ।
आइतबार प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि मंगलबार छलफल शुरु भएको हो। छलफलमा भाग लिएका सत्तापक्षीय प्रदेश सदस्यहरुले नीति तथा कार्यक्रम उत्कृष्ट भन्दै बचाउ गरे भने प्रतिपक्षी प्रदेश सदस्यहरुले नीति तथा कार्यक्रम खुद्रा पसल जस्तो भन्दै आलोचना गरेका छन्।
छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सदस्य डिल्लीराज पन्तले प्रदेशलाई सम्बृद्ध बनाउन योजनाबद्ध विकास कार्यक्रमको आवश्यकता रहेको बेला सरकारले नीति तथा कार्यक्रम मार्फत सामान्य स्तरमा मात्रै काम गर्ने चाहना राखेको देखिएको बताए।
उनले भने –‘कम्पनी जस्तो काम हुनुपर्नेमा प्रदेश सरकारको नीति तथा कार्यक्रम खुद्रा पसल जस्तो भयो।’ अध्ययन अनुसन्धानमा करोडौं खर्च गरेको सरकारले ती अध्ययनबाट आएको निष्कर्षका आधारमा नीति तथा कार्यक्रम बनाउनु पर्नेमा खुद्रा पसल राख्न मै सरकारको रुचि दखिएको उनले बताए।
नेपाली कांग्रेसकै प्रदेश सदस्य कर्ण बहादुर मल्लले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले निराश भएको बताए। मल्लले प्रदेश सरकारले प्रदेशलाई पाँच बर्षमा कहाँ पुर्याउने भन्ने सोचका साथ नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा खुद्रा पसल संचालन गरे जस्तो देखिएको बताए।
सत्तापक्षीय प्रदेश सदस्यहरुले भने सरकारले पेश गरेको नीति तथा कार्यक्रम प्रदेशको विकासका लागि उपयुक्त भएको भन्दै बचाउ गरेका छन्। सत्तापक्ष नेकपाका प्रदेश सदस्य लिलाधर भट्टले प्रदेश सरकारले सन्तुलित विकासको नीति अवलम्बन गरेको बताए।
उनले नीति तथ कार्यक्रम बनाउँदा प्रदेश सरकारले केही महत्वपूर्ण कार्यक्रम छुटाएको बताए। जातीय विभेदका कारण जिल्ला सदरमुकामहरुमा दलित समुदायका विद्यार्थीहरुले बस्ने कोठा नपाइरहेका कारण हरेक जिल्लामा एक एक छत्राबास बनाउने, सडक दुर्घटनामा परेकालाई पनि हवाई उद्धार गर्ने र हरेक अस्पतालमा शब बाहनको ब्यवस्था गर्ने कुरा छुटेको उनले बताए।
नेकपाका प्रदेश सदस्य दीर्घ सोडारीले भने संघीय सरकारले सुदूरपश्चिम प्रदेशलाई पर्याप्त बजेट नदिएको भन्दै संघीय सरकारको आलोचना गरे। उनले शिक्षा मन्त्रालयलाई दिइएको बजेट प्रदेशलाई दिएको बजेट भन्दा बढी रहेको बताए।
नीति तथा कार्यक्रम माथिको छलफलमा नेकपाका प्रदेश सदस्य महेशदत्त जोशी, बलदेब रेग्मी र कुन्ति जोशी तथा नेपाली कांग्रेसका सांसद दिब्येश्वरी शाहले पनि आफ्नो धारणा राखेका थिए।
प्रदेश सभाको मंगलबारको बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश सभामा सम्बोधन गरेकोमा प्रदेश प्रमुख मोहनराज मल्लप्रति धन्यवाद प्रस्ताव समेत पारित गरेको छ।