रत्ननगर-स्थानीय एक नवविवाहित जोडीले विवाहमा प्राप्त लाखौँ दक्षिणा भरतपुरस्थित मानव सेवा आश्रममा रहेका असहायलाई सहयोग गरेको छ।
भरतपुर महानगरपालिका वडा नं १२ बसपार्ककी सोनिया गुरुङ र पोखराका विशाल गुरुङ विहीबार वैवाहिक बन्धनमा बाँधिएपछि आफ्ना नजिकका नातेदारबाहेक साथीभाइ, इष्टमित्रबाट प्राप्त रु तीन लाख ३७ हजार ६४० उक्त आश्रमका संयोजक रुपा केसीलाई उपलब्ध गराए।
केसीले विभिन्न मनकारीहरुको सहयोगमा आश्रमका असहायको पालनपोषण, संरक्षण स्वास्थ्योपचार चलिरहेको भन्दै यसरी सहयोग गर्नुभएकामा गुरुङ परिवारलाई धन्यवाद दिए।
सोनियाका बुबा हिमाल गुरुङले आश्रममा रहेका भाइ बहिनीले सडकमा बेवारिसे भएका अशक्त मनोरोगी बुबाआमालाई उद्धार गरी हेरचाह गर्नु महत्वपूर्ण कार्य भएकाले सहयोग गरिएको उनले बताए।
छोरी ज्वाइँ आएका बेला आश्रमको भ्रमणसमेत गराएर वास्तविकता बुझाउने उनको योजना छ। चितवन आश्रममा सडकबाट ल्याइएका यस्ता असहाय तथा मनोरोगी ५० जना छन्।