
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको छ । आईतबारको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले अगामी आर्थिक बर्षका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।
चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार बजेट विजियोजन गरिएको छ । प्रदेश सरकारले कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।
मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम अन्तर्गत नमूना कृषि गाउँ आफै बनाउँ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले ‘ निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषका लागि’ पनि बजेट छुट्याएको छ । प्रत्येक निर्वाचन क्षेत्रका लागि तीन करोड विनियोजन गरिएको हो ।
प्रदेश सभामा प्रस्तुत गरिएको बजेटमा नयाँ पन केही नभएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदिय दलका नेता डाक्टर रण बहादुर रावलले प्रतिकृया दिए । उनले बजेटमा प्रदेशलाई कायापलट गर्ने कुनै योजना नरहेको र बिगत झै कनिका छरेजस्तै रहेको बताए ।