
पोखरा– आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको एकीकरण गरे। तनहुँको चुँदीरम्घामा जन्मेका राष्ट्रिय विभूती आचार्यले नेपाली भाषा सम्बर्द्धनमा ठूलो गुन लगाए।
जसरी नेपाली भाषा तथा साहित्यमा आदिकवि भानुभक्तको योगदान छ, त्यसरी नै उनको योगदानमा समर्पित भएर लागि परिरहेको नेपालमा चर्चा छैन। तर, आदिकवि भानुभक्तको जन्मस्थान रहेको तनहुँको भानु नगरपालिकाले भने अब भानुभक्तले लगाउने बिर्के टोपीमार्फत पहिचान झल्काउने भएको छ।
गत वैशाखमा नगरकार्यपालिकाको बैठकबाट निर्णय पारित भएपछि जनप्रतिनिधि र कर्मचारीले भानुभक्तको बिर्के टोपी अनिवार्य रुपमा लगाउनुपर्ने नियम बनाइएको छ।
निर्णयअनुसार असार १ गते आइतबारदेखि नै भानुभक्तको टोपीलाई पोशाकको रुपमा ग्रहण गरिएको मेयर उदयराज गौलीले जानकारी दिए। ‘जसरी गोरखाबाट पृथ्वीनारायण शाहले राष्ट्रिय भूगोल एकीकरण गर्नुभयो। त्यसरी नै तनहुँ चुँदीरम्घाबाट भानुभक्तले भाषाको एकिकरण थाल्नुभयो’, उनले भने, ‘राष्ट्रिय विभूतिको सम्मानमा पनि उहाँको टोपी लगाई पहिचान बोक्ने प्रयास गरेका छौँ।’
उनै आदिकविको नामबाट विसं २०७२ असोज १ गते नेपाल सरकारले साविकको भानु गाविस सहित वसन्तपुर, मिर्लुङ, रिस्ती, सतिस्वारा, तनहुँसुर, चोकचिसापानी, रुपाकोट, पुर्कोट गाविसका क्षेत्र समेटेर ‘भानु नगरपालिका’ घोषणा गरेको थियो।
राज्य पुर्नसंरचनाका विभिन्न चरणमा पञ्चायतदेखि गाविस हुँदै नगरपालिकासम्म पनि भानुभक्तको नामबाट नगरपालिका स्थापना भएको सुनाउँदै मेयर गौलीले भावी सन्ततिलाई राष्ट्रिय विभूतिको पहिचान बोक्ने बनाउन बिर्के टोपी लगाउने थिति बसाल्न खोजेको सुनाए।
भाषिक एकिकरणका धरोहर जन्मेको ठाउँमा अन्यत्रबाट आउने पर्यटकलाई मौलिक आकर्षण मार्फत रमाउने बनाउन पनि बिर्के टोपी सहायकसिद्ध हुने उनको विश्वास छ।
‘नगरपालिका मार्फत वितरण हुने चिनोमा भानुभक्तीय टोपी दिने चलन सुरु गरिसकेका छौं,’ मेयर गौलीले भने, ‘दार्जिलिङ सिक्किमसम्म नेपाली मुलका मानिसले उहाँको सम्मानमा टोपी लगाउँछन्। अनि हामी जन्मस्थानमा बसेकाहरुले उहाँको पहिचान भुल्नु हुँदैन भनेर पनि अभियानको रुपमा ल्याएका हौँ।’
तत्काल नगरपालिकामा कार्यरत कर्मचारी ३५/४० जनाले बिर्के टोपी लगाएर सांकेतिक रुपमा आइतबारबाट अभियानको थालनी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र देव पाण्डेले जानकारी दिए।
जनप्रतिनिधि, नगरपालिकाका सबै वडाका कर्मचारी, शिक्षक र फिल्डमा खटिने कर्मचारीलाई पनि उक्त टोपी अनिवार्य हुने उनले बताए।
हाल बजारमा उपलब्ध हुने टोपी औसत भन्दा केबाक्ही लो र गर्मी हुने हुँदा नयाँ उत्पादन गर्ने टोपीलाई जुनसुकै याममा प्रयोग गर्न सकिने बनाउन उत्पादनकर्तालाई आग्रह गरेको अधिकृत पाण्डेले सुनाए।
नगरपालिका मातहत जनप्रतिनिधि र कर्मचारी गरेर कम्तिमा ३ सय जनाले उक्त टोपी पोशाकको रुपमा लगाउने भएका छन्। भानु जयन्तीको अवसरमा नगरपालिकाले असार २९ गते नगर क्षेत्रमा सार्वजनिक बिदा दिने समेत तयारी गरेको अधिकृत पाण्डेले जानकारी दिए।
बिर्के टोपी बनाउन महिलालाई तालिम
नगरक्षेत्र भित्रै बिर्के टोपी उत्पादन गर्न भानु नगरपालिकाले तालिमको प्रबन्ध गर्ने भएको छ। सिलाई कटाईमा रुचि हुने र आर्थिक रुपमा विपन्न महिलाहरुलाई बिर्के टोपी बनाउन नगरपालिकाले तालिमको व्यवस्था गरेको मेयर गौलीले जानकारी दिए।
‘प्रयोग हुने भानुभक्तीय टोपी हाम्रै नगरका महिला दिदी बहिनीले उत्पादन गरुन् भनेर तालिमको चाँजो मिलाएका छौँ’, उनले भने, ‘बाहिरबाट आउने पर्यटकका लागि आकर्षण पनि हुने, उत्पादन गर्ने समूहलाई पनि आम्दानीको स्रोत बढ्ने।’ महिला सशक्तिकरणका योजनामा समेटेर सदरमुकाम दमौलीमा तालिमका लागि पठाइने उनले सुनाए।
सिलाइ कटाइ तालिम सकेका महिलाहरुले यही पेसालाई निरन्तरता दिन चाहेमा आगामी योजनामा मेसिन समेत उपलब्ध गराउने मेयर गौलीले जानकारी दिए।
डुम्रे बजार लक्षित गरेर उत्पादित टोपीको बजारीकरण गरिने नगरपालिकाको योजना छ। डुम्रे हुँदै लमजुङ, मनाङतर्फ लाग्ने पर्यटक र पोखरा, काठमाडौँ ओहोरदोहोर गर्ने मानिसलाई टोपी बिक्री गर्न सहज हुने मेयर गौलीले बताए।
प्रयोगमा आएका बिर्के टोपी विशेषगरी दमौलीमा उत्पादन हुन्छन्। एउटा टोपीको सरदर बजार मूल्य ३ सय रुपैयाँ हाराहारी पर्छ।