
पोखरा – पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६-०७७ को बजेटप्रति असन्तुष्टि जनाउँदै तोडफोडमै उत्रिएका छन्। पाँचौ नगरसभाको अन्तिम दिन सभागृहमा जारी बैठकमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले बजेटमा आफ्ना योजना बाइपास गरेको भन्दै रातोकिताब ‘रेडबुक’ च्यातेका हुन्।
रेडबुक आइसकेपछि त्यसउपर छलफल नगरी एकाएक विनियोज विधेयक पारित भएको भन्दै मेयरले एकलौटी गर्न खोजेको ९ नम्बरका वडाध्यक्ष रामराज लामिछानेले आरोप लगाए।
‘रेडबुक हात परेपछि एकछिन छलफल गरौं भनेको हो। ढिलो गरी मात्रै रेडबुक आयो,’ उनले भने, ‘लगत्तै मेयर साबले तालि ठोक्नुस् भन्नु भयो ।’ रेडबुक अध्ययन गर्न माग्दा मेयरले आलटाल गरेको र अन्तिम समयमा आएर बलजफ्ती पारित गरेको कांग्रेस वडाध्यक्षहरुको आरोप छ।
नगरसभामामै मेयर मानबहादुर जिसीका अगाडि कांग्रेसबाट निर्वाचित ११ वडाध्यक्षसहित सदस्यहरुले रेडबुक च्यातेका थिए । वडाध्यक्षहरुले कार्यक्रम स्थलका टेबुल उठाएर फ्याकेका थिए। बजेटमा पर्याप्त असमानता भएकाले मेयर विरुद्ध आन्दोलनमा उत्रिने कांग्रेस वडाध्यक्षहरुले चेतावनी समेत दिएका छन्।
कांग्रेस वडाध्यक्ष लामिछानेले भने –‘कुनै वडामा धेरै छ । कुनै वडामा अत्यन्तै थोरै छ, विषयगत रुपमा बजेट ल्याउँछौं भनेर सबै बजेट पूर्वाधारमा थुपारिएको छ। वडा १६, १७, २४, १९ लगायतका वडामा अत्यधिक बजेट परेको छ,’
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले मंगलबार नगरसभामा ७ अर्ब ५४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तुत विनियोजन विधेयक बहुमतले पारित भएको छ।