
पोखरा-प्रधानमन्त्री रोजगार कार्यक्रम पोखरा महानगरपालिकामा सुरु गरिएको छ। असारमसान्त भित्रै सकिने गरी महानगरले वडाबाट प्राप्त योजनालाई स्विकृत गरी बेरोजगार जनशक्तिलाई काम दिन थालिएको हो।
पहिलोचरणमा पोखरा महानगरपालिकाको वडा १३ र २७ बाट कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम सहभागि हुन इच्छा देखाएका बेरोजगारहरु मध्ये वडा नम्बर १३ मा ४० जनालाई कार्यालयको सरसफाई र चौतारी बनाउने काममा खटाइएको रोजगार संयोजक माधवप्रसाद न्यौपानले जानकारी दिए।
समुदायमा आधारित विकास निर्माण लगायतका काम गर्न सकिने भएकाले चौतारी निर्माण र सार्वजनिक स्थलको सरसफाईको काममा जनशक्ति परिचालन गरिएको महानगरका रोजगार संयोजक न्यौपानेले बताए।
‘वडामा भएका चौतारीलाई व्यवस्थित निर्माण गर्ने र सार्वजनिक स्थलको सरसफाइ गर्ने योजना छ,’ उनले भने, ‘सरसफाइ वडा कार्यालय प्राङ्गणबाट सुरु गरेका हौं।’वडा २७ मा भने डाँडाकोनाकमाथि पट्टी रहेको चन्द्रकालिका मन्दिर पुग्ने बाटो निर्माण गर्न काम दिइएको छ।
बाटो मर्मत तथा सिँढी बनाउन १६ जनाले काम गरिरहेको रोजगार संयोजक न्यौपानेले जानकारी दिए। ३३ वटा वडा रहेको पोखरा महानगरमा कुल १ हजार ३ सय ८८ जनाले रोजगार कार्यक्रममा सहभागि हुन आवेदन दिएका थिए।
वडाबाट ५ लाखसम्मका योजना ल्याउन महानगरले पत्राचार गरेपनि अन्तिम समयसम्म ११ वटा वडाले मात्रै योजना पठाएका थिए। स्विकृत वडाहरुमध्ये पहिलो चरणमा १३ र २७ का बेरोजगार जनशक्तिलाई काम दिन थालिएको रोजगार संयोजक न्यौपानेले बताए।
योजना स्विकृत भएको २४ नम्बर वडामा समेत पदमार्ग निर्माणका लागि छिट्टै काम थाल्ने न्यौपानले जानकारी दिए। बाँकी वडाहरुमा भने समयअभावका कारण बेरोजगार सूचिमा नाम दर्ता गराएकाहरुले काम नपाउने संकेत देखिएको छ।
संघ सरकारबाट महानगरपालिकालाई कार्यक्रमका लागि सशर्त अनुदान बापतको १ करोड रुपैयाँ पाएको छ।आगामी वर्ष उक्त कार्यक्रमका लागि पोखरा महानगरमा २ करोड रुपैयाँ प्राप्त हुने हालै सार्वजनिक बजेटमा उल्लेख छ।