
उर्लाबारी – मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारे नजिक रहेको मदन भण्डारी रंगशालामा पुग्दा केही मानिस टिकट काटेर संग्रहालयमा प्रवेश गर्दै थिए।
तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर निर्माण गरिएको उक्त संग्रहालयमा प्रवेश जो कोहीले भण्डारीका गतिविधि अत्यन्तै चाख मानेर हेर्ने गरेका छन्।
तर मदन भण्डारीको जन्मदेखि दासढुंगा काण्डसम्मका चित्र राखिएको बोर्डमा हेरेर एकजना अवलोकनकर्ताले भन्दै थिए, ‘अन्तमा राखिएको प्रश्नवाचक चिन्ह कहिल्यैसमाधान नहुने भो।’
त्यही प्रश्न चिन्हले सायद भन्दै थियो, ‘मदन भण्डारीको हत्याराको पहिचान किन अहिलेसम्म हुन सकेन?’
संग्रहालय प्रवेशद्वारमा नेता भण्डारीको तस्बिर र उनी जन्मिएको ताप्लेजुङको ढुंगेसाँघु गाउँदेखि अन्त्यमा चितवनको दासढुंगामा उनी सवार दुर्घटनामा परेको बा अ च ८७९३ नम्बरको जिप राखिएको छ ।
संग्रहालय प्रवेश गरिसकेपछि पश्चिमपट्टिको भित्तामा उनको व्यक्तित्व झल्काउने दश मिनेटको श्रव्यदृष्य प्रदर्शन गरिएको छ।
नेता भण्डारी पहिलो पटक सात सदस्यीय नेपाली जनवादी सांस्कृतिक संघमा आबद्ध भएर राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा होमिएको देखाइएको छ।
वि. सं २०१७ को फौजीकाण्ड, जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको गिरफ्तारी, २०१८ सालमा भएको नेत्र गुरागाईंको हत्या, २०२१ सालमा भएको क्रान्ति योद्धा दुर्गानन्द झाको हत्या, २०२८ सालमा भएको झापा विद्रोह, त्यसपछि उत्पन्न भएको क्रान्तिलाई जननेता भण्डारीले सूक्ष्म रुपले अध्ययन गरी नेपाली कम्युनिष्ट आन्दोलनको राजनीतिक दिशा निर्धारित गरेको संग्रहालयमा चित्रण गरिएको छ।
संग्रहालयमा मोरङको इटहरास्थित घरको प्रतिकृतिसहित जननेता भण्डारीले प्रयोग गरेको साइकलसमेत राखिएको छ।
संग्रहालयमा भण्डारीको काठमाडौँ–नक्सालस्थित डेरा र अध्ययन कक्षको पनि प्रतिकृति बनाइएको छ जसले नेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज हुनेछ।
संग्रहालयमा नेता भण्डारीले त्यसबेला प्रतिनिधिसभामा खेलेको भूमिकासँग सम्बन्धित सामग्रीको प्रस्तुतीकरण तथा नेपालसँग भएका विभिन्न असमान सन्धिसम्झौतासँग सम्बन्धित रहेर राष्ट्रियताका विषयमा उनले लिएको अडानसम्बन्धी सामग्री राखिएका छन्।