
सर्जियो अग्युरोको प्रभावशाली प्रदर्शनमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर सिटीमाथि शानदार जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा अग्युरोको ४ गोलको मद्दतमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ५–१ ले हराएको हो । म्यानचेस्टर सिटीका लागि थप एक गोल रहिम स्ट्रर्लिङले गरे ।
लेस्टरका लागि जेमी भर्डीले एक गोल फर्काए । तेस्रो मिनेटमा स्ट्रर्लिङको गोलबाट म्यानचेस्टर सिटीले सुरुवाति अग्रता लियो । २४ औँ मिनेटमा भर्डीले गोल फर्काएपछि पहिलो हाफमा खेलमा १–१ को बराबरी भयो ।
तर दोस्रो हाफमा अग्युरोले आफ्नो कला देखाए । चार गोल गरे । उनले ४८, ५३, ७७ र ९० औँ मिनेटमा गरी चार गोल गरेका हुन् । अग्युरोले सन् २०१८ लागेयता १० खेलमा १३ गोल गरिसकेका छन् । यस्तै म्यानचेस्टर सिटीका सर्वाधिक गोलकर्ता अग्युरोले अहिलेसम्म १९७ गोल गरेका छन् ।
लेस्टर सिटीसँगको खेलमा केविन डी ब्राउनले पनि राम्रो प्रदर्शन गरे । उनले स्ट्रर्लिङ तथा अग्युरोको सुरुका दुई गोलका लागि सहयोग गरे । खेलपछि प्रशिक्षक गार्डिवलाले जितको सबै क्रेडिट अग्युरोलाई जाने बताए ।
लिडर म्यानचेस्टर सिटीले जितपछि दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग १६ अंकको अग्रता कायम गरेको छ । म्यानचेस्टर सिटीको २७ खेलबाट ७२ अंक भएको छ । ३५ अंकसहित लेस्टर आठौँ स्थानमा छ ।