दाङ – हत्या अभियोग लागेका तीनजनालाई घटना भएको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०५७ साल माघ १९ गते राति साढे ८ बजे हुर्मत खत्रीको हत्या गरि फरार रहेका तीनजनालाई १७ वर्षपछि दाङको ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।
हत्या अभियोग लागेका दंगिशरण गाउँपालिका–४ निवासी ७२ वर्षका अमृतलाल कुँवर, सोही ठाउँका निवासी ४२ वर्षका नेपबहादुर घर्ती र ४५ वर्षका राजेन्द्र घर्तीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
‘१७ वर्षपछि घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेका छौं’ सापकोटाले भने ‘यो मुद्दामा आवश्यक अनुसन्धान गरिरहेका छौं ।’
१७ वर्षअघि हत्या गरिएका हुर्मत खत्रीका छोरा लालबहादुर केसीको जाहेरीका आधारमा उनीहरुलाई दंगीशरण गाउँपालिकाबाट पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिलाई कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।