
बम भेटिएपछि बेलायतको लण्डन सिटी विमानस्थल बन्द गरिएको छ । दोस्रो विश्वयुद्धको क्रममा बनाइएको बम थेम्स नदीको नजिक विमानस्थल परिसरमा भेटिएपछि बन्द गरिएको बिबिसीले जनाएको छ ।
विमानस्थलमा चलिरहेको निर्माणको कामको क्रममा विष्फोट नभएको दोस्रो विश्वयुद्धको बम भेटिएको हो । लण्डनको पूर्वी क्षेत्रमा रहेको विमानस्थलको जर्ज भी डुकमा पूर्वनिर्धारित योजना अनुसार भएको कामको क्रममा बम भेटिएको लण्डन सिटी प्रहरीले जनाएको छ ।
नेपाली समय अनुसार आइबार बिहान पौने ११ बजे शंकास्पद बस्तु भेटिएको थियो । त्यसपछि विशेषज्ञ अधिकारी र सेनाको टोलीले अनुसन्धान सुरु गरेको थियो । १७ घण्टापछि (नेपाली समय अनुसार सोमबार बिहान पौने ४ बजे) शंकास्पद बस्तु विष्फोटक पदार्थ रहेको पुष्टि भएको हो ।
त्यसपछि विमानस्थल बन्द गरिएको छ । विमानस्थलले आफ्ना यात्रुलाई तत्कालका लागि विमानस्थल नआउन र आफूले सेवा लिएका एयरलाइन्समा सम्पर्क गर्न भनेको छ । अहिले दोस्रो विश्वयुद्धमा विस्फोट नभएको बम निष्क्रिय पार्ने काम भइरहेको छ ।