
काठमाडौं – आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू प्रतियोगितामा सोमबार नेपालले केन्यासँग खेल्दैछ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । केन्याले ब्याटिङ गरिरहेको छ ।
बिहीबारदेखि नामिबियामा सुरु भएको प्रतियोगितामा घरेलु टोली नाबिबियालाई हराएर विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो । पहिलो खेलमा एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएपछि विश्वकप छनौटको सम्भावना धरमराएको थियो ।
तर आइतबार भएको तेस्रो खेलमा युएईलाई चार विकेटले हराएर नेपालले फेरि छनौटको सम्भावना बलियो बनाएको छ । अहिलेसम्म भएका तीन खेलमा दुईमा विजयी भएको नेपाल चार अंकसहित ६ राष्ट्र सम्मिलित प्रतियोगितामा दोस्रो स्थानमा छ । शीर्ष स्थानको क्यानडाको ६ अंक रहेको छ । उसले तीनै खेल जितेको छ ।
सोमबार नेपालसँग प्रतिस्पर्धा गर्न लागेको केन्या अहिलेसम्म खेलेका दुवै खेलमा हारेको छ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेपछि सुरु हुनेछ । यसअघि भएको आइसिसी वर्ल्ड लिग च्याम्पियनसिप २०१५–१७ मा नेपाल र केन्याबिच दुईपटक प्रतिस्पर्धा भएको थियो । घरेलु मैदानमा भएका खेलमा नेपाल एक खेलमा विजयी भएको थियो भने एक खेलमा हारेको थियो ।
यस्तै सन् २०१५ मा भएको डिभिजन टू क्रिकेटमा नेपाल केन्यासँग पाँच विकेटले हारेको थियो । त्यतिबेला अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेका नेपाल र केन्यालाई आइसिसीले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अवसर दिएको थियो । प्रतियोगितामा नेपालसहित क्यानडा, ओमान, केन्या, युएई र नामिबियाले प्रतिस्पर्धा गरिरहेका छन् ।
राउन्ड रोबिन लिगका आधारमा सन्चालन हुने प्रतियोगितामा शीर्ष दुई टोली आउँदो वर्ष हुने एक दिवशीय विश्वकप क्रक्रिकेट छनौट खेलका लागि छानिने छन् ।
केन्या, युएई, नामिबिया र नेपाल वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा कमजोर प्रदर्शनपछि तल झरेका हुन् । १० टोली सहभागी हुने विश्वस्तरको छनौटबाट दुई टोली विश्वकपमा छनौट हुनेछन् ।
विश्वस्तरको छनौटमा सहभागी हुने ६ एसोसिएट टोलीमध्ये नेदरल्यान्ड्ससहित चार टोलीले चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन् । त्यसैले डिभिजन टू सबै ६ टोलीका लागि महत्वपूर्ण छ ।