
बेनी-आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीको लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि जिल्लाको सिंगा गाउँका युवा उदाहरणीय बनेका छन्।
बेनी नगरपालिका–४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक रु एक करोड आम्दानी गरेका छन् । यहाँका युवाले दूध बिक्री गरेर मासिक रु ४० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्ने गरेका सिंगाका नवराज पौडेलले बताए।
कतारबाट फर्किएर गाउँमा भैँसीपलन गरेका बेनपा–४ का मनबहादुर खत्रीले दूध बिक्रीबाट अहिले मासिक रु एक लाखभन्दा बढी कमाउन थालेको बताए। उनले २०६८ सालमा रु एक लाख लगानीमा दुईवटा भैँसी खरिद गरेका हुन्।
दूध बिक्रीबाट मनग्य आम्दानी हुने देखेपछि केसीले अहिले छ वटा भैँसी र एउटा उन्नतजातको जर्सी गाईबाट दैनिक ७० लिटर दूध बजारमा बिक्री गर्छन्। केसीमात्रै होइन गाउँका ३० जना युवाले व्यावसायिक रुपमा दूध बिक्री गरेर घरमै बसीबसी प्रतिव्यक्ति मासिक रु एक लाखभन्दा बढी कमाइ गर्दै आएका छन्।
गाउँमा जनभावना दुग्ध सहकारी संस्थाको स्थापना भएपछि घरघरमा व्यावसायिक पशुपालनमा प्रोत्साहन गरिएको छ। सहकारीमार्फत ३०० र किसानले व्यक्तिगत रुपमा १५० लिटर दूध बजारमा पुर्याउने गरेको सहकारीका सञ्चालक कोपिलाल पौडेलले बताए। ‘एक करोड रुपैयाँको त हिसाबै देखिन्छ, यसभन्दा धेरै बिक्री हुन्छ,’ उनले भने। बजारमा दूध प्रतिलिटर रु ८५ सम्ममा बिक्री हुन्छ भने किसानले रु ६५ प्रतिलिटरमा सहकारीलाई दूध बेच्दै आएका छन् ।
गाउँबाट एउटै किसानले दैनिक ५५ लिटरसम्म दूध बेच्ने गरेका छन् भने करिब ४२ घरमा व्यावसायिक रुपमा गाई भैंसी पालिएको छ। पशुसेवा कार्यालयबाट नमूना सहकारीको पुरस्कारसमेत प्राप्त गरेको सो सहकारीले संकलन गरेको दूधलाई बजार लैजान कर्मचारी परिचालन गरिएको छ। सहकारीमार्फत दूध बेच्ने किसानलाई सहकारीकै खातामा पैसा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सहकारीले लगानीसमेत गर्ने भएकाले पनि किसान सहकारीको अभियानमा आकर्षित भएका हुन्।
सम्बन्धित समाचार