
पोखरा- पोखरा १६, सिप्लेकुनास्थित स्थानीय सोभितबहादुर केसीको कुखुरा फार्मबाट १ चितुवालाई नियन्त्रणमा लिइएको छ।
झन्डैं ५ हजार भन्दा बढी कुखुरा रहेको उक्त खोरमा मंगलबार राती चितुवा पसेपछि नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट ४ जनाको प्राविधिक टोली पोखरा बोलाइएको थियो।
प्राविधिक टोलीले चितुवालाई डार्टिङ (बेहोस बनाउन सुइ हान्ने प्रविधि) प्रयोग गरी बुधबार दिउँसो ४ बजे नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत तथा सूचना अधिकारी शालिकराम पराजुलीले जानकारी दिए।
नियन्त्रणमा लिइएको चितुवालाई पोखरा ३१, पचभैँयामा रहेको जुलोजिकल पार्कको वन्यजन्तु उद्दार केन्द्रमा साँझ ६ बजे पुर्याइएको थियो।
उद्दार केन्द्रमा रहेको नेचुरल केजमा चितुवालाई राखी उपचार गरिएको छ।
कुखुराको खोरबाट उम्कन जालीमा बल गरेकोले चितुवाको सामान्य केही ठाउँमा चोट देखिएको छ।राती खोरमा चितुवाको पसेको फार्मका सञ्चालकले बुधबार बिहान मात्रै पत्तो पाएका थिए।
चितुवालाई खोरमै थुनेर उनीहरुले वन कार्यालयलाई जानकारी दिएको पराजुलीले बताए। लगत्तै वन कार्यालयबाट सुरक्षा सहित पुगेको टोलीले खोरबाट चितुवालाई निकाल्न गरेको प्रयास असफल भएपछि डार्टिङ गर्ने टोली बोलाइएको हो।
‘जर्बजस्ती चितुवालाई खोर बाहिर निकाल्दा मान्छे माथि पनि आक्रमण गर्छ भन्ने डर थियो,’ उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जबाट डार्टिङ गर्ने प्राविधिक र चिकित्सक बोलाएर नियन्त्रणमा लियौं।’
चितुवा खोरमा पसेपनि गम्भीर क्षति भने नभएको बताइएको छ। कुखुरा डराएर सामान्य त्यस्तै ५-७ वटा च्यापिएर मरेको पराजुलीले जानकारी दिए । समयमै चितुवालाई डार्टिङ गरी नियन्त्रणमा लिइएको अन्य जोखिम पनि हुन नपाएको उनले बताए।
पराजुलीका अनुसार डार्टिङ गरी वन्यजन्तुलाई नियन्त्रणमा लिइएको सम्भवतः कास्कीमै पहिलो घटना हो। झन्डैं ४ वर्ष उमेरको पोथी चितुवा रहेको पराजुलीले जानकारी दिए।
विशेषगरी मध्यपहाडी बेल्टमा पाइने प्रकृतिको चितुवा रहेको वन कार्यालयले जनाएको छ। वन क्षेत्रमा आहार कम भएपनि पछिल्लो केही समययता पोखरा बजार क्षेत्रमा चितुवा पस्ने गरेका छन्।