बिक्रम गुरुङ

जसले दियो अरुण थापालाई तीनवटा कालजयी सिर्जना

+
-

कुराकानीको मेलो सुरु गर्दा विक्रम गुरुङले काठमाडौँको मौसमलाई छोए, ‘पानी पर्दा काठमाडौँ मात्र होइन नेपाल सारै राम्रो लाग्छ, बादल थुप्रो थुप्रो लागेको, पानी परेको साह्रै सुन्दर हुन्छन्। यतिबेला वरपर हराभरा पनि हुन्छ।’

हुन त ३० वर्ष अगाडि हङकङ पुग्दा पहाड, डाँडाहरुले नेपालको झल्को नदिएका होइनन्। वातावरणलाई तौलने हो भने हङकङमा अहिले गर्मी याम नै छ। हङकङमा सबै विकसित शहर, नेपालमा शहरसँगै हरिया फाँट पनि देखिन्छन्।

किनकी ‘१९७४ एडी’ले भनेजस्तै ‘जसो गर जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो।’ कर्मथलो हङकङ, अनि कर्म नेपाली संगीतको विकास। यही संगीतको डोराेले उनलाई आफ्नो मातृभूमिसँग फेरि जोडेको छ। वर्षमा अथवा ६ महिनामा उनी नेपाल आउँछन् अनि फर्कन्छन्।

उद्देश्य र रहरको अनौठो सम्बन्ध हुन्छ, उस्तै तर फरक आकाशवेलीका लहरा जस्तै। फरक हुन्छन् तर एक अर्कामा अल्झिएका पनि। रहरलाई नै कर्म बनाउने ल्याकत कमैमा हुन्छ, रहरलाई जीवनको प्रयोगशालामा प्रयोग गरी उद्देश्यका पछि भाग्नेहरु जताततै भेटिन्छन्। जो ‘कुनै बेला हामीले पनि यस्तो गरेका थियौँ’ भन्दै चियापसलमा फलाक्छन्, चौतारीमा गफिन्छन् अथवा छोरा नातिलाई कथा जसरी सुनाउँछन्।

उद्देश्य र रहरलाई साथै लैजालेलाई खोज्दै जाँदा हातमा गन्न सकिएला, किनभने दुई ओटा ढुंगा चढेर खोला तर्ने साहस सबैलाई आउँदैन। संगीतकार गुरुङ पनि यही समूहका एक हुन्।

पेशाले शिक्षक,

अनि नेपाली संगीतका सर्जक। संगीत क्षेत्रलाई मात्र विशिष्ट क्षेत्रमा राख्दा उनको परिचयमा गायक अनि संगीतकारको परिचय थपिन्छ। स्वर्गीय गायक अरुण थापाले गाएको कालजयी गीत, ‘भूलुँ भूलुँ लाग्यो मलाई सपनीमा मिठो लाग्दैन बिपनी’, ‘आँखाको निद खोसी लाने’ र ‘कतै टाढा तिमीबाट भुलेँ भने’ उनकै शब्द रचना हुन्।

बसाई हङकङ, तर नेपाली आधुनिक संगीतमा चाख राख्ने जमातमा उनी परदेशी छैनन्। ‘म नेपाल आउँदा मेरो सर्कललाई भेटघाट गर्छु।’

अनामनगर, कालिकास्थानको ‘नेपालय’ को एउटा कोठामा गुरुङ संगीतसँग साइनो कसरी जोडियो भन्ने केलाउँदैछन्।

रहर भन्दा फरक पेशा


‘रहर लाग्या चिज कहाँ गर्न पाइन्छ र?’ भनेको जस्तै भयो, संगीतकार विक्रम गुरुङलाई। परिवार र बालबालिकाको चाहनाले मेल नखाने चलन त्यो बेला झन् थियो। भारतीय आर्मीका छोरा विक्रमले समाजमा हैसियत जमाउनु पर्ने थियो। समाजले प्रतिष्ठित भनेको पेशा अपनाउनु पर्ने थियो।

बाबुको कुरा काट्न सकेनन्। अनि पोखराबाट स्नातक पढ्नको लागि काठमाडौँ आए। त्यसपछि साँगाको दिपेन्द्र सैनिक विद्यालयमा दुई वर्ष काम गरे। पोखराको पि.एन क्याम्पसमा पनि पढाए। अनि उनी हङकङ हानिए। उनी आफ्नो कामबाट प्रशन्न छन्।

हुन चाहिँ पेशा भन्दा अगाडि नै संगीतमा रस बसेको हो।

फेवातालको पश्चिम पहाडको तामागी गाउँमा उनको जन्म भएको हो। बाबु भारतीय सेना भएकोले परिवार उतै सर्‍यो। गुरुङले पाँच कक्षासम्मको अध्ययन गरीसकेपछि परिवार फेरी पोखरा फर्कियो।

उनी पोखराको गण्डकी आवासीय विद्यालयमा भर्ना भए।

संगीतप्रति चाख अनि अरुण थापाको इन्ट्री


गण्डकी आवासीय विद्यालयमा भर्ना हुँदा हो गुरुङ संगीतसँग जोडिने बाटो बनेको। ‘त्यहाँ संगीत पढाउने शिक्षक हुनुहुन्थ्यो। उहाँ एकदमै भर्सटायल टिचर हुनुहुन्थ्यो, जुन विषय पनि पढाउन सक्ने। उहाँ होस्टलमा मुनामदन वाचन गर्नुहुन्थ्यो। मलाई त्यहीँबाट प्रेरणा मिल्यो।’, गुरुङ भन्छन्, ‘उहाँ राम्रो गिटार बजाउनुहुन्थ्यो अनि राम्रो गाउनुहुन्थ्यो पनि।’

स्कूलका कार्यक्रममा गुरुङले कहिले पनि  गीत गाएनन् तर नाटक भने गरे। तर पनि उनको नजानिदो तरिकाले गीतसँग सम्बन्ध बस्यो।

आइएस्सी सक्किएपछि एक दिन एकजना आर्मी अफिसरले दुवै पाटामा बज्ने क्यासेट प्लेयर बजाए। मिठा मिठा गीत बजिरहेका थिए, त्यतिबेला सिमसिमे पानी परिरहेको थियो। ‘यी आँखाबाट बगिसके कोशी र कर्नाली’ आदि, ती अम्बर गुरुङका संगीत रचना थिए तर यसले विक्रमलाई अम्बरको फ्यान बनाइदियो।

अनि सिर्जना गर्ने रहर टुसायो, बाजा बजाउन आउँदैन थियो, सिक्ने प्रयत्न सुरु भयो। आफ्नो गुरु आफैँ र आफ्नो शिष्य पनि आफैँ बन्दै गए।

पछि गएर विक्रमको संगत यही क्षेत्रका व्यक्तित्वसँग झाँगिन थाल्यो। सरोज गोपाल, जो त्यति बेलाका स्थापित कम्पोजर थिए, उनका साथी भए, अरुण थापा यतिनै बेला पोखरा आइपुगे।

अरुण, बुबा गञ्जु थापाको सरुवा पोखरामा भएकोले त्यहीँ गएका थिए। अरुणको संगत विक्रमको दाइसँग थियो। पोखरा सानो ठाउँ, सबैले सबैलाई चिन्ने, एकदमै मिठो गीत गाउने केटो आएको छ भनेर सुनेका थिए, एकदिन एउटा कार्यक्रममा उनले गीत गाएँ, सबै चकित, सबै दंग। विक्रम अरुणबाट निकै प्रभावित भए।

त्यसपछि यी दुई साथी भए। विक्रमले गीत लेखे, अरुणले गाए, ‘कतै टाढा तिमीबाट पुगेँ भने’, ‘आँखाको निद खोसी लाने’ र ‘भुलुँ भुलुँ लाग्यो मलाई सपनीमा’। यी दुईको उठबस अब सँगै हुन थाल्यो। अरुण र विक्रम गाउँ–गाउँ डुल्न हिँड्थे, पछाडि गिटार बोकेर हिँड्दा सबैको आँखाको केन्द्र बन्थे। त्यसपछि उनी काठमाडौँ आए। संगीतमा ब्रेक लाग्यो।

पेशाले प्रत्यक्ष छुटाएको संगीत


गुरुङ स्नातक पढ्न काठमाडौँ आए। त्यसपछि पढाई पूरा गर्न लागे। उनको पेशा शिक्षण बन्यो अनि दिपेन्द्र सैन्य स्कूल अनि पि.एन. क्याम्पस हुँदै उनी हङकङ पुगे। त्यसपछि नियमित नभई मौका जुराएर मात्र संगीतमा रहे।

लाहुरे परिवारमा घरको एउटा छोरा जसरी पनि लाहुने हुनु पर्ने चलन थियो। तर विक्रमका बाबाले विक्रमलाई कुनै पनि सुरक्षा निकायको क्षेत्रमा लाग्न प्रोत्साहन गरेनन्। तर सत्यता के पनि थियो भने, विक्रमका परिवारले संगीतमा भविष्य खोज्न बिक्रमलाई हौसाएनन्।

त्यसैले संगीतलाई उनले प्राथमिक प्राथमिकतामा राखेनन्, त्यो फुर्सद निकालेर गरिने काम भयो।

तर हङकङ गएपछि काम गर्दा पनि संगीतसँग जोडिने अवसर बनाए। ‘हङकङको ब्रिटिश आर्मी बोर्डिङ स्कूलमा ब्रिटिस आर्मीमा काम गर्ने सेनाका नानीहरुलाई पढाउने मौका पाए।’ नेपाली शिक्षक शिक्षिका थिए। ‘मैले बालगीत रचना गर्ने अनि संगीत भर्ने काम गरेँ। काठमाडौँ आएका बेलामा पनि संगीत पारखीहरुसँग भेट्ने मौका जुर्थ्याे।

तर उनको सर्कल सानो रह्यो। ‘त्यो घेरालाई बढाउन मैले चाहिन पनि।’ विक्रम सम्झिन्छन्, उनका संगति अरुणसँगै, प्रकाश गुरुङ, ओमबिक्रम विष्ट, सुवर्ण लिम्बु, देवराना, टंक प्रधान, सरुभक्त लगायत अरु अरु।

हङकङगमा उनले नेपाली संगीतसँग सम्बन्धित काम गर्न पाए। गत वर्ष मात्र हङकङमा ‘विक्रम गुरुङ संगीत यात्रा’ कार्यक्रम पनि आयोजना भएको थियो।

‘पलेटी’ यसरी जुर्‍यो


अहिलेसम्म आफ्नै शब्द र संगीतमा ४ ओटा गीत रेकर्ड भएका छन्। तीन ओटा त अरुण थापाले मात्रै गाएका छन्।

८ वर्ष अगाडि आफ्नो वार्षिक नेपाल भ्रमणको लागि विक्रम नेपाल आएका थिए। ट्रेकिङ जाने भनेर नेपथ्यका अमृत गुरुङ, आभास नेपाल सहितको टोली पोखराको गाउँको उकालो लाग्यो। ‘बाजा गाजा सहित।’

त्यतिबेला विक्रमले माहोललाई संगीतले तरङ्गित बनाए। झुमे र झमाए पनि। यसपछि आयो, आभास नेपालको पलेटी साँझ गर्ने प्रपोजल। अनुभव, ज्ञान अनि इतिहासलाई सँगै राखेर प्रस्तुत गर्न सक्ने उनको खुबीबाट आभास प्रभावित भए।

तर विक्रमलाई त्यो अवसर जुटेन, बीचबीचमा गर्ने भनेर कुरा भएको हो। गएको फेव्रुअरीमा पनि फिक्स भइसकेको कार्यक्रमलाई सार्नुपर्‍यो।

बल्ल बल्ल जुरेको छ। साउनको १० गतेबाट शुरु हुने पलेटी तीन दिनसम्म चल्ने छ। पलेटीमा अरुण थापासँगका उनका उठबस, साथी संगतीका कुरा हुनेछन्। कार्यक्रममा मिना निरौलाले गुरुङलाई साथ दिनेछिन्। पलेँटीमा १४ ओटा गीत प्रस्तुत हुनेछन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’