
सिमकोट – सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको सिमकोट गाउँपालिकाले दुई वर्षमा ६ वटा वडाहरुमा सडक सञ्जाल जोडेपछि स्थानीयले स्वागत गरेका छन् ।
पहिलो पटक आफ्नो घर आगनमै गाडी गुडेर आएपछि अब दुःखका दिन जाने भनेरै खुसीका साथ गाडीमा आएका आगन्तुकलाई स्वागतका साथै खुसीयाली मनाइएको हो ।
गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले स्वागतका साथै खादा र घ्यु टसीको जात्रा पनि गरिएको थियो । गाडी आएसँगै अब स्थानीयको जीवनमा पनि परिवर्तन आउने अपेक्षा स्थानीयले गरेको नुर्बु लामाले बताए ।
उनीको सोचे अनुसारको विकास हुन परिर्वतन हुने कुरा भने हेर्न बाँकी छ ।
गाउँमा निर्माण भएको सडकमा तीन वटा गाडी एक साथ गुडेपछि बरगाउँका प्रत्येक घरका महिलाहरुद्वारा गाडी चालक, जनप्रतिनिधि र कर्मचारीलाई स्वागत गरिएकोे थियो ।
गाडीलाई स्वागत गर्न बालक देखि बृद्धसम्मको उपस्थिति रहेको थियो । गाडीमा सवार सबैलाई सिमकोटबाट गएको टिमलाई खादा, घ्यू टसी र छ्याङ खुवाएर स्वागत गरिएको थियो ।
सिमकोट गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा दुई वर्षमा पालिकाका वडा नम्बर ३ र ४ नम्बर वडामा गाडी पुर्याउने लक्ष अनुसार गत वर्ष ४ र यस वर्ष ३ मा गाडी पुगेको अध्यक्ष पदम बहादुर लामाले बताए ।
त्यो सँगै यसै वर्ष ७ नम्बर वडा पनि सडक सञ्जालसँग जोडिएको उनले बताए । अबको एक हप्तामा वडा नम्बर २ पनि जोड्नका लागि हाल निर्माण कार्य भै रहेको छ । वडा नम्बर १ ले पनि नजिकबाट सडक सुविधा प्रयोग गर्न पाउने छन् ।
चालु आर्थिक वर्षमा वडा नम्बर १ लाई सडक सञ्जालसँग जोड्नका लागि ९० लाख बजेट विनियोजित गरिएको र अब चाँडै सडक निर्माणका लागि टेण्डर आव्हान गरिने उनले बताए ।
यस अघि ५ र ६ वडा पनि जोडिसकेका छन् । अब वडा नम्बर आठ मात्र बाँकी रहेको र त्यसका लागि पनि चालु आर्थिक वर्षमा ८५ लाख बजेट विनियोजित गरिएको थियोे ।
बितेको दुई वर्षमा सिमकोट गाउँपालिकाले वडा कार्यालय जोड्नका लागि १६ किलोमिटर निर्माण भएकोे छ । यसका लागि तीन करोड तीस लाख बजेट खर्च पालिकाबाट गरिएको छ ।
वडा नम्बर ७ र ८ लाई जोड्ने धारापोरीको कर्णाली नदीमा बेलिब्रीजको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरिएको र प्रदेश सरकारबाट पनि सकारात्मक आस्वासन प्राप्त भएको र केही गरि कतैबाट सहयोग नभए नाम्खा र सिमकोट गाउँपालिका मिलेर आगामी वर्ष बेलिब्रीज पुल निर्माण गरेर सडक निर्माण कार्यको सुरुवात गरिने भएको छ ।
अर्को वर्ष जसरी पनि सिमकोटका सबै वडा कार्यालयहरुका गाडी गुडाउने पालिकाले जनाएको छ ।