
धनगढी-हावा हुरीबाट पीडित भएका परिवारले क्षतिपूर्ति नपाएको भन्दै धनगढी उप-महानगरपालिका वडा नम्बर–१२ को वडा कार्यालयमा दोश्रो दिन पनि ताला लगाएका छन्।
वडा अध्यक्ष राजीनामा दे, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गरा भन्दै नारावाजी गरेका स्थानीयले वडा कार्यालयमा ताला लगाएपछि कार्यालयको कामकाज पूर्ण रुपमा ठप्प बनेको छ। निवेदन नै नदिएका परिवारलाई क्षतिपूर्ति दिएपनि पीडित परिवारलाई क्षतिपूर्तिको सूचिमा समेत नराखेर मनोमानी गरेको आन्दोलनरत पक्षको गुनासो छ।
जेठ २३ गते राती आएको हावा हुरीका कारण क्षति व्यहोरेका धनगढी उप-महानगरपालिका वडा नम्बर–१२ जुगेडाका पीडित परिवारले पहुँचका आधारमा मात्रै क्षतिपूर्ति वितरण भएको आरोप लगाउँदै सोमबार देखी आन्दोलन थालेका थिए।
वास्तविक पीडितलाई क्षतिपूर्ति को लिष्टमा नै नराखेर वडा अध्यक्षले राजनीतिक आस्थाका आधारमा कार्यकर्तालाई छनौट गरेर क्षतिपूर्ति वितरण गरेको आन्दोलनमा सहभागि भएकाहरुको आरोप छ।
वडा अध्यक्ष गणेश प्रसाद जोशीले भने क्षतिपूर्ति वितरण गर्ने अधिकार नगरपालिकालाई भएकाले आफूले केही गर्न नसक्ने बताउाछन्। उनले सिफरिसमा नक्कली निवेदक भन्ने आरोप निराधार भएको बताए।
गत जेठ २३ गते गएको हावाहुरीका कारण धनगढी उप-महानगरपालिकामा मात्र दुई हजार पाँच सय ५० घरमा आंशिक क्षती र तीन घरमा पूर्ण क्षती भएको तथ्याङक थियो। अस्थायी प्रहरी पोष्ट जुगेडाको मुचुल्का सहित वडा कार्यालयले उप-महानगरपालिकालाई पठाएको वडा सचिव भुवन खत्रीले बताए।
उनका अनुसार हावाहुरीका कारण वडा नम्बर–१२ मा ६ वटा सरकारी विद्यालय, १३ पोल्ट्रीफर्म, १ मेडिकल र एक वटा प्याथालोजीमा पनि क्षति पुगेको थियो।