
पोखरा-पर्यटकीय नगरीको उपमा पाएको पोखरामा केही मानव निर्मित बैगुनहरु छन्। यसमध्येको एक पोखरा बसपार्क पनि हो।
धेरै सरोकारवाला निकायले बसपार्कका कारण पोखरा आउने आन्तरिक र बाह्य पर्यटकमा नकारात्मक सन्देश प्रवाह गरेको भन्दै सुधार गर्न खबरदारी गर्दै आएका छन्।
जनताको गुनासो र सुझाव लिन सञ्चालनमा आएको ‘हेलो मुख्यमन्त्री’मा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग यसबारे प्रश्न गरियो।
पोखरा न्यूरोड निवासी भानु पाण्डेले ‘पृथ्वीचोकस्थित बसपार्क कहिले सुधार हुन्छ ?’ भनी प्रश्न गरे। बसपार्ककै कारणले पर्यटकमा नकरात्मक सन्देश गएको भन्दै उनले गुनासो पोखे।
बसपार्क व्यवस्थित नहुँदा राजमार्गमा बढी भिडभाड भएकाले ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएकोले मुख्यमन्त्रीलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे।
जवाफमा मुख्यमन्त्री गुरुङले महानगरपालिकाका मेयरसँग आफूले यसबारे छलफल गरेको र प्रदेशको सहयोगमा महानगरले यसको सुधार गर्ने जानकारी दिए।
उनले बसपार्कको जग्गामा मानवीय अतिक्रमण भएकोले त्यसको व्यवस्थापनमा केही ढिलाई हुनसक्ने उनले बताए।अवैध बस्तीको विषयमा प्रदेश सरकारले विकल्प सोचि रहेको बताउँदै बसपार्कको विषयमा आफूले चासो राखेको मुख्यमन्त्री गुरुङको भनाइ थियो।
मुख्यमन्त्री गुरुङले बस्ती व्यवस्थापन गरेपछि संघ सरकारसँग समपुरक अनुदानको बजेट ल्याएर बसपार्क निर्माण गर्ने प्रदेश सरकारको विकल्प सुनाए।
स्वयं उपस्थित भएका मुख्यमन्त्रीलाई बागलुङदेखि बुर्तिवाङ जाने मध्यपहाडी लोकमार्गमा काम रोकिएको गुनासो आयो। बागलुङबाट खिमानन्द कडेंलले सो क्षेत्रको २० किलोमिटर निर्माण कार्य रोकिएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए।
जवाफमा मुख्यमन्त्रीले सम्बन्धित निर्माण कम्पनीसँग आफूले कुरा गर्ने बताए। त्यस्तै, नवलपुरबाट गोकुल रिमालले मध्यबिन्दु जिल्ला अस्पतालको प्रमुखमा नियुक्त गरेको व्यक्ति निजी अस्पताल सञ्चालक भएको भन्दै यसमा यसले स्वास्थ्य सेवा प्रवाहमा प्रभाव पर्न सक्ने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए।
मुख्यमन्त्री गुरुङले जवाफमा गुड फेथको आधारमा नियुक्त दिइएको भन्दै केही महिना उनको कामलाई हेर्न आग्रह गरे।